‘राष्ट्रियताको सवालमा प्रधानमन्त्री शतिशाल हुन्’ : मन्त्री अर्याल



मोतीराम तिमल्सिना, काभ्रे ।

कृषि तथा पशुपक्षी मन्त्री पदमा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अफवाह र पदबाट हटाउनु पर्ने बाध्यता पार्टीकै नेताहरुलाई चुच्चे नक्सा जारी गरे देखि शुरु भएको बताउनु भएको छ । अनेमसंघ काभ्रेको जिल्लास्तरीय बैठक तथा महिला भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई असजिलो पार्दै नाकाबन्दीको सामना गर्ने र चुच्चे नक्सा जारी गरे पछि विरोधमा उत्रने काम भएको बताउनु भयो ।

‘राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपी शर्मा ओली शतिशाल हुन्’–मन्त्री अर्यालले भन्नुभयो–‘केपी ओलीको राष्ट्रिबादबाट आत्तिएका नेताहरुलाई औडाहा भयो, पाँच वर्ष त केपी ओलीले प्रधानमन्त्री खायो खायो, अर्काे पाँच वर्ष पनि खाने हो कि भन्ने शंकाका कारण पार्टीको सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे ।’ माधव नेपाल १६ वर्ष पार्टी अध्यक्ष भएर पार्टीलाई २०६४ सालमा कहाँ पुर्‍याएर भागे ? प्रचण्ड ३१ वर्ष अध्यक्ष भएर माओवादीलाई कहाँ पुर्‍याए ? अझै नेतृत्व उनिहरुलाई नै ? मन्त्री अर्यालले भन्नुभयो–‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै मुहार फेर्ने गरी योजनाहरु बनाउनु भयो, पार्टीलाई दुई तिहाई नजिक पुर्‍याउनु भयो र जनताको मन जित्नु भयो । फेरी पनि केपी ओलीकै पक्षमा जनमत उर्लिएको छ ।’

महिलाहरु भोट भएको बताउँदै मन्त्री अर्यालले क्षमताको जमाना शुरु भएकाले क्षमतामा प्रतिस्पर्धा गरी नेतृत्वमा आउन अनुरोध गर्नु भयो । ‘युद्ध लडेका महिलाहरुलाई प्रचण्ड दुई पटक प्रधानमन्त्री हुँदा सम्झनु भयो ?’–मन्त्री अर्यालले भन्नुभयो–‘शरिरका विभिन्न भागमा गोली र गोलीका छर्रा बोकेर अपाङ्ग भएर बस्दा उपचार भयो ? तर केपी ओली नेतृत्वको सरकारले उहाँहरुलाई सम्बोधन हुने गरी निर्णय गरी कार्यान्वयन गरेको छ ।’ महिलाहरुलाई उत्पादनका काममा जोड्दै सिप सिकाएर उद्यमी महिला बनाउने र राजनीतिमा सक्रिय बनाउने गरी सरकारले गरेको कामलाई पार्टीका निकायहरुले जोड्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व मन्त्री गोकुल बास्कोटाले चुनौती सामना गरी प्रतिस्पर्धा गर्ने अवस्थामा महिलाहरु सक्रिय हुनु पर्ने बताउनु भयो । महिलाहरुलाई प्रतिस्पर्धी बनाएर सहभागिता गराउनु पर्नेमा जोड दिदै हरेक वडामा क्षमतावान महिला तयार गरी महिलाहरुको क्षमता अनुसारको सिप र उद्यमशिलतामा जोड्नु पर्ने बताउनु भयो । पार्टी फुटाउँदै हिड्नेले पार्टी बनाउन नसक्ने बताउँदै पुर्व मन्त्री बास्कोटाले निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिएकाले पार्टी फुट्न नसक्ने बताउनु भयो । कसैलाई पार्टीमा बस्न मन छैन भने अर्काे पार्टी गठन गरेर जाँदा हुने बताउँदै नेता बास्कोटाले अरु विरोधमा लाग्छन हामीहरु निर्वाचनमा होमिनु पर्ने बताउँदै कार्यकर्ताहरुलाई वडा र टोल कमिटीहरु समेत गठन गर्न निर्देशन दिनु भयो ।

भेलाले कमला काफ्ले अध्यक्ष र पवित्रा भुर्तेल संयोजक रहेको २ सय ५१ सदस्यीय अनेमसंघ जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ । घोषणा सभामा पुर्व राज्य मन्त्री रेशम लामा, प्रदेश सभा सदस्य गोमा भुर्तेल, संविधान सभा सदस्य शिला कतिला, रामहरी सुवेदी, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, केन्द्रिय सदस्य रिता ढकाल, नगरपालिका उपप्रमुखहरु, गाउँपालिकाका उपाध्यक्षहरु, अनेमसंघ केन्दिय कमिटीका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । १३ वटै पालिकाबाट भेलामा महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्