माघ १७ गतेदेखि ललितपुरमा लगातार स्वास्थ्य शिविर

स्वास्थ्य परीक्षण गराउन ललितपुर महानगरपालिका– १६ र अरनिको समाजको संयुक्त अपिल



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका– १६ र अरनिको समाजले बृहत निशुल्क स्वास्थ्य शिविरको लाभ उठाउन संयुक्त आहवान गरेको छ ।

माघ १७ गतेदेखि फागुण २२ गतेसम्म हरेक शनिबार १६ वडाका विभिन्न स्थानमा हुने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन सार्वजनिक आहवान गरिएको हो । स्वास्थ्य सेवा पहुँच योग्य, सर्वसुलभ र विशेषतः आर्थिक स्तर कमजोर भएका मानिसहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । ‘आ आफ्नो विषय विज्ञ र अनुभवी चिकित्सकहरुको उपस्थितिमा हुन लागेको शिविरबाट बढी भन्दा बढी लाभ उठाउन आग्रह गर्दछौं ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

समाजका अध्यक्ष एवं वरिष्ठ न्यूरो चिकित्सक डा. सर्वोत्तम श्रेष्ठले विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफ्नो स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै बिहीबार वडामा आयोजित स्वास्थ्यकर्मीहरुको बैठकमा भन्नुभयो ‘ स्वास्थ्य शिविर बारे आफ्नो साथीभाई ,घर परिवार र छरछिमेकी लाई पनि जानकारी दिन अनुरोध गर्दछु ।’

पहिलो शिविर माघ १७ गते मंगलबजारमा हुनेछ । त्यसमा नशा तथा हाडजोर्नीको परीक्षण गरिने छ । त्यसैगरी मुटु रोग सम्बन्धी शिविर माघ २४ गते बुबहाल, गाबहालमा, फागुण १ गते बाल तथा छाला रोग सम्बन्धी शिविर बालिफल (अशोक हलमा) , फागुण ८ गते स्त्रीरोग सम्बन्धी शिविर नागबहालमा, फागुण १५ गते पेट तथा कलेजो सम्बन्धी शिविर दौबहालमा र फागुण २२ गते शनिबार ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ ।महानगरपालिका क्षेत्रमा लगातार छ सातासम्म स्वास्थ्य शिविर आयोजना गरिएको यो नै पहिलो पटक रहेको आयोजकहरुको दाबी रहेको छ ।

शिविरमा स्वास्थ्य सम्बन्धी आफूलाई भइरहेको समस्याहरु बारे परामर्श लिन सकिने र निःशुल्क औषधी समेत वितरण गरिने समाजका महासचिव डा. सुशील प्रजापतिले बताउनुभयो । समाजका अनुसार स्त्री रोग सम्बन्धी जाँचमा ४५ वर्ष भन्दा माथिका महिलाहरुको पायस्प्समेर निशुल्क परीक्षण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्