निर्वाचन : विवाह र बसाइँसराइ गर्नेलाई समस्या



इलाम ।

आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी इलाममा पनि थालिएको छ ।

निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ ।

मतदान केन्द्र तथा मतदानस्थल सिफारिस समितिको बैठकले इलाममा १० मतदान केन्द्र र आठ वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ । बैठकले सन्दकपुर गाउँपालिका–१ मा २, इलाम नगरपालिका–५ मा १, माङसेबुङ गाउँपालिका–४ मा १, रोङ गाउँपालिका–२ र ६ मा १/१, फाकफोकथुम गाउँपालिका–४, ६ र ७ मा १÷१ मतदानस्थल थप गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

त्यस्तै इलाम नगरपालिका–७ मा रहेको बाल मन्दिर आदर्श माविको मतदानस्थललाई महेन्द्ररत्न बहुमुखी क्याम्पसमा, वडा नं ९ को पोखरी प्राविको मतदानस्थललाई इलाम उच्च माविमा सार्ने प्रस्ताव गरेको छ । त्यस्तै, देउमाई नगरपालिका–२ को सिंहदेवी माविको मतदानस्थललाई रत्नबम प्रतिष्ठानको भवनमा र माङसेबुङ– १ स्थित गजुरमुखी महिला सहकारीको मतदानस्थललाई सोही वडा कार्यालयको भवनमा सार्ने गरी अयोगमा प्रस्ताव पठाएको निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।

निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली अद्यावधिक गरिने भएको छ । माघ १५ देखि २१ गतेसम्म प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिने निर्वाचन अधिकारी काफ्लेले जानकारी दिनुभयो । मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ । नामावली सार्वजनिक भएपछि मतदाताले आफ्नो नामावली हुने, त्रुटी भए सच्याउने, दोहोरो परेको र मृत्यु भएकाको नामावली हटाउने, बसाइँसराइ र विवाह गरेर अन्त्य गएकाको हटाउने काम हुन्छ ।

विवाह र बसाइँसराइ गएकाले एक ठाउँमा भएको नामावली हटाए पनि अर्को ठाउँमा भने नयाँ नाम दर्ता गराउन सक्दैनन् । यसो गर्दा मतदान गर्ने अधिकारबाट वञ्चित हुने भन्दै जिल्लास्थित सरोकारवालाले निर्वाचन कार्यालयलाई ध्यान दिन आग्रह गरेका छन् । निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई लाख चार हजार ५४ जना मतदाता थिए । गएको पुस मसान्तसम्ममा मतदाताको सङ्ख्या थपिएर दुई लाख १४ हजार ८३६ पुगको छ । करीब तीन वर्षमामा दश हजार ७८२ मतदाता थपिए पनि मतदाता अद्यावधिक हुँदा केही सङ्ख्या कम हुनसक्छ । मतदाता अद्यावधिक गर्न प्रत्येक स्थानीय तहकामा एक–एक जना कर्मचारी परिचालन भइसकेको छ । मतदाता नामावली अद्यावधिकपछि मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ ।
बागलुङमा १४ हजार मतदाता थप

गलकोट– निर्वाचन आउन तीन महिना बाँकी रहँदा बागलुङ जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल तथा बैठकलार्ई निरन्तरता दिइएको छ ।

निर्वाचन कार्यालय बागलुङका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरणमा उल्लेख भएका १८ वर्ष पुगेका नागरिकले मात्र मतदान गर्न पाउने भएका छन् । पुस ५ गतेसम्मको तथ्याङ्क अनुसार बागलुङमा एक लाख ८८ हजार १०८ मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन अधिकारी शिवराम शर्माले जानकारी दिनुभयो । “हामीले निर्वाचनको मिति तोकेसँगै आन्तरिक तयारीलाई तीव्रता दिएका छौं”, उहाँले भन्नुभयो, “सुरक्षा निकाय तथा सरोकारवालासँगको छलफल, मदतानस्थल र केन्द्रको अद्यावधिकलगायत विषयमा निर्वाचन आयोगमा पठाइसकेका छौं ।”

यसअघि बागलुङमा २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख ६८ हजार ३४९ मतदाता थिए । २०७६ मङ्सिर १४ गते बागलुङमा भएको प्रदेश तथा वडाध्यक्षको उपनिर्वाचनमा पुनः पाँच हजार ४६१ मतदाता थपिएर जम्मा एक लाख ७३ हजार ८१० मतदाता थिए । निर्वाचनको तयारीस्वरुप यही माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिनसकिने निर्वाचन अधिकारी शर्माले बताउनुभयो । कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारीसमेत खटाइसकेको छ ।

त्यसैगरी आगामी निर्वाचनमा १०३ मतदानस्थल र २०१ मतदान केन्द्र रहेकोमा आगमी निर्वाचनमा भने २१९ मतदान केन्द्र बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको निर्वाचन अधिकारी शर्माले बताउनुभयो । जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार मतदाता सङ्ख्यामा आएको वृद्धिसँगै १८ मतदान केन्द्र थप्न सिफारिस गरिएको छ । चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधँै आवश्यक तयारीमै हुने शर्माको भनाइ छ । मुख्य काम निर्वाचनको एक महिनाअघिदेखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आकलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उहाँको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा दुई निर्वाचन क्षेत्र छ ।

चार तेस्रो लिङ्गी मतदाता

नवलपुर–नवलपरासी (बर्दघाट–सुस्तापूूर्व)मा ११ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासी९बर्दघाट–सुस्तापूूर्व०काअनुसार जिल्लामा ११ हजार ४०९ जना मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी ओम नारायण शर्मा ढुङ्गानाले पुस ५ गतेसम्म कार्यालयमा दर्ता भएको नामावली निर्वाचन आयोगमा पठाएकोमा आयोगबाट दुई लाख ३३ हजार १२३ मतदाताले मतदानमा भाग लिन पाउने गरी नामावली फिर्ता आएको बताउनुुभयो ।

उहाँकाअनुसार एक लाख नौ हजार ५६७ जना पुरुष, एक लाख २३ हजार ५५२ जना महिला र चार जना तेस्रो लिङ्गी रहेका छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । जिल्लामा मतदानस्थान तथा मतदान केन्द्र निर्धारण पुनरावलोकन समितिको बैठक बसिसकेको भन्दै जिल्ला निर्वाचन अधिकारी ढुङ्गानाले जिल्लामा मतदानस्थल तथा केन्द्र नबढ्ने बताउनुुभयो । जिल्लामा २५८ मतदान केन्द्र तथा ११२ मतदानस्थल रहेका छन् । राजनीतिक दलहरुले मतदान केन्द्र र मतदानस्थल थप गर्ने विषयमा कुनै सुुझाव नदिएको उहाँले जानकारी दिनुभयो ।

“जिल्लामा मतदान केन्द्र र स्थल थप हुने विषयमा कुनै सुुझाव आएको छैन”, उहाँले भन्नुुभयो, “यद्यपि मध्यविन्दु–१३ मा एउटा गाउँ रहेको छ, त्यस गाउँका करीब ६०० मतदातालाई भोट हाल्न जानका लागि २०/३० किलोमिटर नै हिँड्नुपर्ने देखिएको छ ।” अहिलेको नयाँ संरचनाका कारण उनीहरुलाई धेरै हिँड्नुपर्ने भएको भन्दै ढुङ्गानाले त्यस गाउँमा कुनै पनि सरकारी कार्यालय नहुँदा मतदानस्थल निर्माण गर्न समेत समस्या देखिएको बताउनुभयो ।

आयोगबाट नामावली प्राप्त भइसकेकाले आगामी माघ १५ देखि मतदाताको नामावलीमा रहेको दोहोरो नामावली हटाउने, त्रुटी सच्चाउने, विवरण सच्चाउने काम हुने उहाँले बताउनुुभयो । मतदाता नामावली सच्चाउनका लागि जिल्लाका आठ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिएको भन्दै ढुङ्गानाले उनीहरुका अभिमुखिकरणसमेत दिइसकिएको बताउनुभयो । सहायक नाम दर्ता अधिकारीले माघ १५ देखि स्थानीय तहमा नै बसेर विवरण सच्चाउने काम गर्ने उहाँले बताउनुभयो ।

कास्कीमा १० हजार मतदाता वृद्धि

कास्की– सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेपछि कास्की जिल्लामा पनि निर्वाचनको तयारी शुरु गरिएको छ ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन कार्यालयले आसन्न निर्वाचनको तयारीस्वरुप मतदानस्थल सिफारिस, मतदाता नामावली अद्यावधिक दाबी विरोधका कार्यक्रम सञ्चालन तथा राजनीतिक दलसँग अन्तक्र्रियाका कार्यक्रम गरिएको कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताउनुभयो ।

कास्कीमा विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ५५ हजार ४५४ मतदाता रहेकामा यसपटक नौ हजार ९४२ मतदाता बढेका छन् । मतदातामा पुरुष भन्दा महिलाको सङ्ख्या बढी छ । महिला एक लाख ४० हजार ७६१ र पुरुष एक लाख २४ हजार ३१ गरी दाबी विरोध अगाडि कूल मतदाता दुई लाख ६५ हजार ३९६ छन् ।

पाँच स्थानीय तह रहेको जिल्लामा पोखरा महानगरपालिकामा दाबी विरोध अघि एक लाख ९८ हजार ६६३, माछापुछ्रेमा १८ हजार ६५४, अन्नपूर्णमा १८ हजार ३४९, मादीमा १६ हजार ४८७ र रुपा गाउँपालिकामा १३ हजार २४३ मतदाता छन् ।

कार्यालयले निर्वाचन तयारीस्वरुप माघ १६, १७ र १८ गते जिल्लाका पाँचवटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली उपर दाबी विरोधका कार्यक्रम सञ्चालन हुने जनाएको छ । मतदाता नामावलीमा त्रुटि सच्चाउने, दाबी विरोध गर्ने, दोहोरो नाम भएकालाई हटाउने र मृत्युभएकालाई मतदाता सूचीबाट हटाएर अद्यावधिक मतदाता नामावली तयार गरिने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । अन्तिम मतदाता नामावली निर्वाचन आयोगले फागुन पहिलो साता प्रकाशित गर्नेछ ।

जिल्लामा यस पटक मतदानस्थल र केन्द्र थप गरिएको छैन । साविकको १५० मतदानस्थल र ३१७ मतदान केन्द्रलाई यथावत् राखी केही मतदानस्थलको स्थानमात्र सारिएको न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा तोकिएका मतदानस्थल र केन्द्रलाई यथावत् राखिएको छ, सङ्ख्या थप्न सिफारिस भएको छैन । निर्वाचन आयोगले पछि मतदाता सङ्ख्या हेरेर मतदानस्थल र केन्द्र थपघट गर्न सक्दछ ।”

पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २३० मतदान केन्द्र छन् । यसैगरी मादीमा १७ मतदानस्थल र २५ मतदान केन्द्र, अन्नपूर्णमा १५ मतदानस्थलमा २३ केन्द्र, माछापुछ्रेमा १२ मतदानस्थल र २३ केन्द्र र रुपा गाउँपालिकामा आठ मतदानस्थल तथा १६ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्