इन्टर कोपा इटालियाको सेमिफाइनलमा



रोम, (एजेन्सी)

इन्टर मिलान इटालियन नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको तनावपूर्ण उक्त क्वार्टरफाइनल मिलान डर्बी भिडन्तमा इन्टरले सिरी ए लिग लिडर एसी मिलानलाई २–१ गोलअन्तरले हराउँदै उपाधि यात्रामा पूर्णविराम लगाइदिएको हो ।

एसी मिलानलाई उसैको घरेलु मैदानमा हराउन इन्टरका लागि रोमेलु लुकाकु र क्रिस्टिएन एरिक्सनले समान एक–एक गोल योगदान गरे । पराजित एसी मिलानका लागि भने ज्लाटन इब्राहिमोभिचले एक गोल गरेका थिए । तनावपूर्ण खेलमा ज्लाटनले खेलको ५८औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेका थिए ।

खेलमा एसी मिलानले सुरुवाती अग्रता लिएको थियो । खेलको ३१औं मिनेटमा भेट्रान फरवार्ड ज्लाटनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । डीबक्स भित्रबाट उनले हानेको कडा प्रहार गोलपोस्टको पोलमा लागेर जाली चुमेको थियो । तर, खेलको ५८औं मिनेटमा गोलकर्ता ज्लाटन नै रातो कार्डका सिकार भएर मैदानबाट बाहिरिएपछि टोलीलाई दवाब बढेको थियो । ज्लाटनलाई रेफ्रीले भिएआरमार्फत् दोस्रो पहेंलो कार्डका साथ रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । इन्टरका लुकाकु र एसी मिलानका ज्लाटनबीच खेल दौरान हात हालाहालकै स्थितिसमेत पैदा भएको थियो ।

त्यसपछि खेलको ७१औं मिनेटमा इन्टर मिलानले पेनाल्टी पायो । एसी मिलानका खेलाडीले डीबक्समा फाउल गरेपछि रेफ्रीले भिएआरमार्फत् इन्टरलाई पेनाल्टी दिएका थिए । जसमा लुकालुले प्रहार गरेको पेनाल्टी बारमा लाग्दै गोल भएपछि इन्टर खेलमा फर्कियो ।

त्यसपछि खेल बराबरीतिर अग्रसर बनेको थियो । तर, ९० मिनेटपछि १० मिनेटको इन्जुरी समयमा इन्टरका लागि एरिक्सनले विजयी गोल गरे । थप समयको सातौं मिनेटमा एरिक्सनले डीबक्स लाइनबाट फ्रिकिकमार्फत् शानदार ढंगले सोझै गोल गरेपछि खेल इन्टरले २–१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्