प्रिन्सलाई जेस्ट ब्याडमिन्टन एकेडेमीको सम्मान



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेस्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ ।
वसुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर–पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

‘कलिलो उमेरदेखि ब्याडमिन्टन -याकेट समाती विभिन्न बाधा अवरोधलाई झेल्दै विश्व ब्याडमिन्टन महासंघको यु–१९ तर्फको वरियतामा तेश्रो नम्बरमा उक्लन सफल भई राष्ट्र, ब्याडमिन्टन खेल, संघ र खेल क्षेत्रको उच्च सान र मान राख्न सफल भएकोमा त्यसको कदरस्वरूप कदर–पत्रद्वारा सम्मान गरिएको छ’ कदर–पत्रमा जनाइएको छ ।

सोही क्रममा ब्याडमिन्टन खेल सामग्री उत्पादक संस्था योनेक्सको आधिकारिक बिक्रेता योनेक्स सनराइज नेपालको तर्फबाट प्रोपाइटर राजु बास्तोलाले ब्याडमिन्टन -याकेटसहित खेल सामग्री प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि सदस्य सचिव सिलवालले प्रिन्सको उपलब्धिले विश्व खेल मञ्चमा नेपालीहरूको सान उच्च राख्न सफल भएको भन्दै आगामी दिनमा विश्व ब्याडमिन्टनको वरियतामा १ नं.मा उक्लन सफल हुनुपर्ने बताए । उनले यसका लागि विभिन्न -याकिङ प्रतियोगिताहरूमा सहभागिताका लागि परिषद्बाट सक्दो सहयोग गर्ने बताए ।

यस्तै, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठले नेपालका उदियमान खेलाडीलाई आजको अवस्थामा आइपुग्नका लागि नेपाल ब्याडमिन्टन संघले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको पहलसहित सहयोग गरेको बताए ।

प्रिन्स दाहाल आजको अवस्थामा आइपुग्न परिवार र विषेशतः उनका मामा कमलेस निरौलको निकै नै सहयोग रहेको भन्दै उहाँहरूलाई धन्यवाद प्रदान गर्नुका साथै परिवारको सहयोगविना कुनै पनि खेलाडी अगाडि बढ्न नसक्ने बताए ।

एकेडेमीका अध्यक्ष पाठकले ब्याडमिन्टन खेलको विकास र विस्तारको उद्देश्यका साथ विगत ५ वर्षदेखि एकेडेमी सञ्चालन गर्दै विभिन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुका साथै प्रिन्स दाहाल मात्र नभई रत्नजित तामाङलगायत विभिन्न खेलाडीहरूलाई सम्मान गर्दै आइरहेको बताए । उनले प्रिन्सको उत्तरोत्तर प्रगतिका कामना गर्दै आगामी दिनमा अझ उच्च स्थानमा पुग्न शुभकामना प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्