पुलिसलाई रोक्दै एपीएफ फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा रोक्दै नेपाल एपीएफ क्लब जारी पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपीएफले गत संस्करणको विजेता टिम पुलिसलाई ३० रनले माथ खुवाएको हो । एपीएफले २ सय ४ रनको मध्यम लक्ष्य तेर्साएकोमा पुलिस मात्र १ सय ७३ रन बनाउँदै अलआउट भयो ।

पुलिसलाई रोक्न एपीएफका बलरहरूले शानदार प्रदर्शन गरे । भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए भने कमल ऐरी, अविनाश बोहरा र शरद भेषवाकरले २/२ विकेट हात पारेका हुन् । पुलिसका शीर्ष तीन ब्याटसम्यानलाई सस्तैमा आउट गर्नु नै एपीएफको जित निश्चित भएको थियो । ओपनरद्वय कुशल भुर्तेल शून्यमा र सुनील धमला ३ रनमा आउट भएका थिए ।

कुशललाई भुवनले पहिलो ओभरको दोस्रो बलमा एलबीडब्ल्यूको धरापमा पारेर पुलिसलाई शुरूमै झट्का दिए । यसपछि चौथो ओभरमा कमलले अर्का ओपनर सुनीललाई एलबीडब्ल्यू आउट गरेका थिए । यतिबेला पुलिसको स्कोरकार्डमा २ विकेटको क्षतिमा ११ रन बनेको थियो ।

४ रन जोड्दा पुलिसले तेस्रो झट्का सहनुपरेको थियो । भुवनले अमित श्रेष्ठलाई व्यक्तिगत ८ रनमा आउट गरेका थिए । यसपछि भने दीपेन्द्रसिंह ऐरी र अनिल कुमार साहले चौथो विकेटका लागि ४६ रन जोडेर टिमलाई उकास्न प्रयास गरे । २०औं ओभरमा अनिल २१ रन जोडेर कमलको बलमा बोल्ड भएका थिए । स्कोर ८२ हु“दा जमिरहेका ब्याटसम्यान दीपेन्द्र पनि आउट हुन पुगे । उनलाई ३३ रनमा शरदले आउट गरेका थिए ।

त्यसपछि, कप्तान मन्जित श्रेष्ठ पनि ३ रन जोडेर शरदको शिकार भए । छैटौं विकेट १ सय ४ रनमा गुमाएपछि एपीएफले खेलमा नियन्त्रण लिइसकेको थियो । यद्यपि, पवन शर्राफ ४० रन र राशिद खानले ३४ रन बनाए पनि त्यो जित दिलाउन पर्याप्त योगदान भएन । अन्यमा आरिफ शेखले १६ रन र सागर ढकालले ११ रन जोडे भने ललित राजवंशी कुनै पनि रन नबनाई नटआउट रहेका थिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । टिमका लागि शंकर राणाले सर्वाधिक ४४ रनको योगदान दिएका थिए । त्यस्तै, बलर भुवनले महत्वपूर्ण ४२ रन जोडे भने सन्दीप जोराले ३४ रन बनाएका थिए ।

शीर्ष ब्याटसम्यानको प्रदर्शन भने निराशाजनक रहेको थियो । पुलिसका बलरमा आरिफले ३ विकेट लिँदा ललित र दीपेन्द्रले २/२ विकेट हासिल गरेका थिए । एपीएफले उपाधिका लागि शनिबार दोस्रो सेमिफाइनल खेलका विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । आज हुने सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच एक अर्कासँग सामना हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्