एउटै गाउँको बेसारबाट ५० लाखभन्दा बढीको आम्दानी



कविराज नेपाल, पाल्पा ।

मसलाजन्य वस्तु बेसारको उत्पादन र कारोबार बढेसँगै पाल्पामा रोजगारी तथा आम्दानीको गतिलो स्रोत बन्न पुगेको छ । पछिल्लो समयमा अदुवाको विकल्पका रूपमा किसानले बेसारको व्यावसायिक खेती गर्न थालेपछि रोजगारी र आम्दानीको स्रोत बन्न पुगेको हो ।

विगतमा व्यावसायिक अदुवा खेती गर्दै आएका किसानले उत्पादन गरेको अदुवा भारतीय उत्पादनका कारण बजार नपाएपछि विकल्पका रूपमा बेसार खेतीतर्फ किसान आकर्षित भएका हुन् । विगतमा अदुवा खेतीका लागि चर्चित जिल्लाको तिनाउ गाउँपालिकाको कोलडाँडा, कचल, मस्याम क्षेत्र रिब्दीकोट गाउँपालिकाको पालुङ मैनादी, फेक, कुसुमखोला, भैरवस्थान, माथागढीको गोठादी आदी क्षेत्रका किसानहरू हिजोआज व्यावसायिक बेसार खेतीमा संलग्न भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

जिल्लाका कुल खेतीयोग्य क्षेत्रफलमध्ये ८ सय ५० हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमा बेसार खेती गर्दै आइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । खेती गर्दा खासै मेहनत नपर्ने र स्याहार सुसार पनि अरु खेतीलाई जस्तो नचाहिने तर आम्दानी राम्रो हुनुका साथै बजारको समस्यासमेत नभएकाले आफूहरू बेसार खेतीतर्फ आकर्षित भएको किसानहरूको भनाइ छ ।

साथै बाँदर, दुम्सी जस्ता जंगली जनावरले समेत अन्य खेतीमा जस्तो नोक्सान नपु-याउने र पाखो मलिलो, भिरालो जुनसुकै स्थानमा यसको खेती गर्न सकिने भएकाले पनि किसानलाई बेसार खेतीले लोभ्याएको हो । किसानहरूका अनुसार स्थानीय बजारमै १५० रुपियाँदेखि २५० रुपियाँ प्रतिकिलोमा बेसार विक्री हुने गरेको छ ।

अन्य खेतीको तुलनामा बेसार खेती अहिले राम्रो देखिएको माथागढी गाउँपालिका ठादीका किसान शेरबहादुर रानाले बताउनुभयो । अर्का निस्दी गाउँपालिकँ झिरुवासका किसान खुमबहादुर सारुले यस वर्ष बेसारबाट १० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको बताउनुभयो ।

यस क्षेत्रका किसानले बेसार बिक्रीबाट वार्षिक ५० लाख रुपियाँभन्दा बढी कमाउने गरेको स्थानीय किसानको दाबी छ । सत्यवतीका कृषक नारायण खनालले विगत ३ वर्षदेखि व्यावसायिक रुपमा लगाएको बेसारले वैदेशिक रोजगारीलाई जितेको बताउनुहुन्छ । वर्षमा १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ ।

जिल्लाको रामपुर क्षेत्रमा ५० जनाभन्दा बढी किसानले व्यावसायिक रुपमा बेसार खेती गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको भनाइ छ । उहाँका अनुसार बेसार खेतीका निम्ति नगरपालिकाले प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो ।

त्यस्तै रिब्दीकोट गाउँपालिकाले बेसार खेतीको प्रर्वद्धनका लागि प्राविधिक सहयोगका साथै किसानलाई बेसार पिस्नका लागि मेसिन सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले वताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले गत वर्ष तीन जना व्यावसायिक किसानलाई मेसिन वितरण गरेको थियो । गाउँपालिकाले यसलाई क्रमशः वढाउँदै लैजाने तयारी गरेको अध्यष जीसीको भनाइ छ ।

जिल्लाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार गाउँपालिकालाई बेसार खेतीको पकेट क्षेत्रका रुपमा समेत विस्तार गर्ने गरी आफूहरु अगाडि बढेको जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालका अनुसार सम्भाव्यता हेरेर वेसारलाई अझ व्यावसायिक वनाउँदै लैजाने हो भने यसबाट थप फाइदा लिन सकिने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्