उखु किसानलाई सरकारले नै ३० लाख भुक्तानी दिन बाँकी



कृष्णउदास खनाल,वीरगन्ज ।

पर्साका उखु किसानले पनि सरकारबाट पाउनुपर्ने अनुदानवापतको रकम अहिलेसम्म नपाएको गुनासो गरेका छन् । गएको वर्षको अनुदान रकम सरकारले अहिलेसम्म पनि उपलब्ध नगराएको पर्साका उखु किसानले बताएका छन् । पर्सा जिल्लाका उखु किसानलाई पोहोर सालको अनुदानवापत सरकारबाट पाउनुपर्ने ३० लाख रुपियाँ अझै नपाएको नेपाल उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले बताउनुभयो ।

उहाँले आफूहरुले सरकारबाट ६५ रुपियाँ प्रतिक्विन्टल अनुदान पाउने र त्यही रकम जम्मा भएर ३० लाख पुगेको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७५/७६ सालको सिजनमा बाराको रिलायन्स सुगर मिललाई पर्साका किसानले बिक्री गरेको उखुको १ करोड रुपियाँ पनि रिलायन्स सुगर मिलले अहिलेसम्म भुक्तानी दिएको छैन ।

अध्यक्ष साहले २ वर्ष पहिलेकै १ करोड रुपियाँ रिलायन्स सुगर मिलले अहिलेसम्म किसानलाई भुक्तानी नदिएको बताउनुभयो । चालू आर्थिक वर्षको सिजनका लागि अहिले पर्साका किसानले उखु सुगर मिललाइ दिन शुरु गरिरहेका छन् । यसपटक पनि रिलायन्स र रौतहटमा रहेको बाबा बैजुनाथ सुगर मिलले पर्साका किसानको उखु खरिद गरी क्रसिङ गर्ने सहमति जनाएका छन् ।

सुगर मिलले उखुको रकम १५ दिनभित्रै भुक्तानी दिनुपर्ने नियममा उल्लेख छ । तर, हरेक वर्ष तोकिएको समयमा सुगर मिलबाट उखुको भुक्तानी नपाएका कारण उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । भुक्तानीकै समस्याका कारण पर्सामा पनि यो वर्ष उखु लगाउने कृषकको संख्या घटेको छ ।पर्सा जिल्लामा अघिल्लो वर्ष ४ हजार बिघामा लगाइएको उखु खेती यसपटक घटेर करिब ३ हजार बिघामा मात्रै सीमित भएको उखु उत्पादक संघ पर्साका अध्यक्ष साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्