होटल मजदुरको तलबमा सहमति



काठमाडौं, (नेस)

होटल क्षेत्रका मजदुर तथा कर्मचारीलाई कामविहीन भएको अवस्थामा दिइने तलबमा होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील तीनवटा ट्रेड युनियनबीच सहमति भएको छ । कोरोना कहरका कारण होटल व्यवसाय धरासायी हुने अवस्थामा गएको र त्यस्ता प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीसम्बन्धी विषयमा सहमति भएको हो ।

गत असार २८ गते भएको सामूहिक सम्झौता पुस १६ गते सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएको हुनाले पुनः अर्को सहमति भएको हो । सहमति बमोजिम पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मासिक पाँच हजार रकम उपलब्ध गराउने, चारतारेबाट चार हजार, तीन तारेबाट तीन हजार, दुईतारेबाट दुई हजार पाँच सय, एकतारेले दुई हजार र पर्यटकस्तरीयले आपसी समझदारीमा दिने भएका छन् ।

यस अवधिभरी चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता श्रमिक तथा कर्मचारीलाई उपलब्ध गराइने छैन । होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीलाई निजहरुले खाइपाई आएको पारिश्रमिक उपलब्ध गराइनेछ ।

यो सहमति सन् २०२१ डिसेम्बर ३१ तारिखसम्म कायम रहनेछ । होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी कर्मचारीलाई काममा लगाइने र काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीलाई निजहरुले खाइपाई आएको पारिश्रमिक उपलब्ध गराउनेछन् । काममा नबोलाइएमा यस सहमतिमा तोकिएको रकम उपलब्ध गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्