समाचार प्रभाव : ६ महिनापछि मुगु पुग्यो चामल



मुगु, (नेस)

हिमाली जिल्ला मुगुका सबै बिक्री केन्द्रमा करिब ६ महिनापछि खाद्यान्न पुगेको छ । जिल्लाका डिपो तथा बिक्री केन्द्रहरूमा चामल पठाउन ठेक्का पाएको शर्मा ढुवानी सेवा केन्द्रलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले बारम्बार ताकेता गरेपछि खाद्यान्न पु-याइएको हो ।

यसअघि नेपाल समाचारपत्रमा मुगुका लागि आएको चामल प्रदेश राजधानीमै गायब, दशैंको मुखमा मुगुका गाउँमा खाद्यान्न डिपो रित्तैलगायतका समाचार प्रकाशित भएका थिए । सामाचार प्रकाशित भएसँगै शाखा कार्यालय गमगढीले ताकेता गरेपछि ६ महिनासम्म रित्तै भएको पुलु डिपो केन्द्रमा पुस पहिलो साता खाद्यान्न पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार बौद्ध धर्मावलम्बलीको ल्होसार पर्व लक्षित खाद्यान्न पु¥याएको शाखा कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । शाखा कार्यालय सदरमुकाम गमगढी बजारबाट पुलु डिपो केन्द्रका लागि ३५ क्विन्टल र सुर्खेत शाखा कार्यालयबाट २ सय ७० क्विन्टल खाद्यान्न ढुवानी भएर आएको उहाँको भनाइ छ ।

त्यस्तै, सोरु गाउँपालिकाको सोरुकोट डिपो केन्द्रमा २ सय क्विन्टल चामल मौज्दात छ भने कालै बिक्री केन्द्रमा १ हजार ९० क्विन्टल खाद्यान्न मौज्दात रहेको अधिकारी बताउनुहुन्छ । खत्याड गाउँपालिकाको रातापानीमा रहेको डिपो केन्द्रमा ६० क्विन्टल खाद्यान्न छ भने शाखा कार्यालय गमगढी बजारमा २ हजार ८ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको सूचना अधिकारी पुष्कर भामले बताले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका अनुसार जिल्लाका २ स्थानबाट सहकारीमार्फत चामल बिक्री भइरहेको छ । पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको एब्लाङ कृषि सहकारी र रारा कृषि सहकारीबाट ६ प्रतिशत छुट गराई खाद्यान्न बिक्री–वितरण भइरहेको छ । पछिल्लो समय खाद्य संस्थानमा चामल लिन प्रतिदिन ५० देखि १ सयको हाराहारीमा सेवाग्राही आउने गरेको सूचना अधिकारी भामको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्