जसले संक्रमित स्याहारिन् उनैलाई लगाइयो पहिलो खोप



नेपाल समाचारपत्र, वीरगन्ज ।

करिब दश महिना अगाडि वीरगन्जमा चार भारतीय मुस्लिम धार्मिक अगुवाहरुलाई कोरोना देखिएको थियो । त्यत्ति बेला कोरोना त्रास नेपालमा व्यापक थियो । पर्सामा तीन भारतीयसहित चार जना धर्म गुरुहरुमा कोरोना देखिएपछि देशभर तरंग भयो र उनीहरुलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरियो तर त्यत्ति बेला उपचार नै के थियो र कोरोना संक्रमितका लागि । आवश्यक थियो त केवल, साहस र हौसला । उनीहरु निको भए पत्रकारसहित समाजमा कयौं व्यक्तिहरु पर्सामा विस्तारै संक्रमति हुदै गए ।

नारायणी अस्पतालमा जाने तिनैलाई ऊर्जा र हौसला प्रदान गर्न नर्स हेमा थापा खटिनुहुन्थ्यो । डर त उहाँमा पनि थियो तैपनि उहाँले कोरोना संक्रमतिहरुलाई कहिल्यै अनादर गर्नुभएन । नर्सको भूमिमा मात्रै नभई एक सामाजिक मनोपरामर्शदाताका रूपमा उहाँ अस्पतालमा रहनुभयो । संक्रमति हुने करिब १० दिन त्यहाँ बस्नुपर्दथ्यो उहाँले दिने हौसलाले १० दिन त्यहाँ बस्न संक्रमतिहरुलाई अप्ठेरो भएन । तिनै कोरोना संक्रमितहरुको हरपलको साथी बनेकी हेमा थापाले वीरगन्ज कोरोनाको हटस्पट बनेको केही महिनापछि बुधबार पहिलो कोरोनाविरुद्धको खोप लगाउनुभयो ।

बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा हेमालाई खोप लगाएर कोरोनाविरुद्धको खोप अभयानको शुभारम्भ प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले गर्नुभयो । हेमाले खोप लिएपछि आफूले विगतमा संक्रमतिहरुलाई आफूले दिएको सेवा र संक्रमणका कारण ज्यान गुमाएका पर्सावासीलाई सम्झिएको बताउनुभयो । पर्सामा कोरोना कारण ५१ जनाको ज्यान गएको छ । यिनीहरु सबै पर्साका भने होइनन् । वीरगन्जका अस्पतालमा उपचारका क्रममा पर्सा, बारा र रौतहटसहितका मधेसका संक्रमतिहरुको ज्यान गएको हो ।

खोप केन्द्रको उद्घाटन गरे पनि मुख्यमन्त्रीले भने खोप लगाउनुभएन तर अस्पतालका मेडिकल सुपरिटेन्डेनसहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले भने लगाएका छन् । पर्सामा ५ हजार २ सय डोज खोप प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्