२८ हजार ५ सय ६ जनामा भ्याक्सिन



नेपाल समाचारपत्र, विराटनगर ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश–१ मा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५ सय ६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

प्रदेश–१ मा खोप अभियानको शुरुआत गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले कोभिडविरुद्ध विजय प्राप्त गर्ने कामको शुरुआत भएको बताउनुभएको छ । जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको उहाँको कथन छ ।

८ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेत बताउनुहुन्छ । निर्देशक बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्यजिल्लामा १–१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । खोपलगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमा कार्यक्रम शुरु भएको उहाँले बताउनुभयो ।

बिहीबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम शुरु हुने बस्नेतले बताउनुभयो । कोभिडविरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा. दीपक सिग्देलले भ्याक्सिन सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो । उहाँले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताउनुभयो ।

पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहन सकिने डा. सिग्देलको भनाइ छ । प्रदेश–१ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५ सय ७६ लाई खोप लगाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्