घान्द्रुकमा सिनेमा बहस



टंक अधिकारी, कास्की ।

मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोका रूपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन्। यसले त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पु-याएको छ। त्यस्तै ठाउँमध्ये कास्की अन्नपूर्ण गाउ“पालिकास्थित घान्दुक गाउँ पनि सिनेमा छायांकनको लागि सम्भावना युक्त ठाउँ हो।

सुन्दर घान्द्र्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार सिनेमा संवाद एट घान्द्रुक कार्यक्रममा सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना तथा सिनेमा साहित्य ः सम्बन्ध र साझेदारीबारे छलफल चल्यो। सिनेमा टुरिजमः सम्बन्ध र सम्भावनामा अभिनेता तथा निर्माता निर्देशक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे।

छलफलको शुरुआतमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थरूपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रवद्र्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए। कोभिडपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुवै पर्छन्। अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त? ‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ।

कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किंदै छु’, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने– ‘आन्तरिक पर्यटनलाई कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ।’ निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको जनाउ“दै सिनेमा र पर्यटन दुवै क्षेत्र पनि अति प्रभावित भएको सुनाए।

उनले भने– ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो। सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ। म पनि १२ वर्षअघि घान्द्रुक आएको थिएँ। सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै। म त्यस बेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ। केही हदसम्म टेलिफिल्मले निकै चिनायो घान्द्रुकलाई। विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ।’

पर्यटन परिषद्का अध्यक्ष भट्टराईले भने– ‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हब बनेका छन्। सिनेमाबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेका छन्। अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ। त्यसमा हाम्रो समन्वय जरुरी छ।’ तर, सिनेमा र गीत–संगीतले पर्यटकीय क्षेत्रका रूपमा कुनै पनि स्थानलाई चिनाउन सहयोग गरे पनि त्यसको विकास निर्माणमा सहयोग गरी नै हाल्ने भने नहुने निर्देशक थापाको मत छ।

उनले भने– ‘मुस्ताङमा के यो माया हो? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन। पछि त्यहीं प्रेमगीत खिच्यौं। घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं। आन्तरिक पर्यटन आउँदा नै अझ राम्रो बनेको सुनियो। त्यो ठाउँलाई कसरी देखाउने, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन्।’

सिनेमा साहित्यः सम्बन्ध र साझेदारीमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ तथा सहजकर्ता दिनेश डिसी थिए। लेखक गनेश पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए।

अभिनेता दीपकराज गिरीले भने एकाध बनेका फिल्मलाई गनेर चलचित्र क्षेत्रको इतिहास ५० वर्ष मान्न नहुने टिप्पणी गरे। प्रजातन्त्रको पुनःस्थापनापछि नै नेपाली सिनेमाको उत्थान भएको उनको भनाइ छ। कार्यक्रमलाई समापन गर्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दीपश्चात् खुलेको पर्यटन र फिल्म क्षेत्रको प्रचारप्रसारका लागि आफूहरुले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्