कोभिडविरुद्धको अभियान तनहुँमा पनि



नेपाल समाचारपत्र, तनहुँ ।

भारतले सहयोग गरेको कोभिडविरुद्धको म्याक्सिन लगाउन बुधबारबाट तनहँुमा पनि थालिएको छ । स्वास्थ्य कार्यालय तनहुँले दमौली अस्पताल र स्वास्थ्य कार्यालयको नवनिर्मित भवनमा केन्द्र राखेर पहिलो चरणको खोप अभियान सञ्चालन गरेको हो ।

अभियानको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुरुआत गर्नुभएको छ । शुक्लागण्डकी नगरपालिकाको थप्रेक स्वास्थ्य चौकीमा कार्यरत वीरेन्द्रकुमार चौधरीलाई खोप लगाएर अभियानको शुरु गरिएको थियो । जिल्लाभरका १ हजार ६ सय ७९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकामा ५ सय ५८, शुक्लागण्डकी नगरपालिकामा २ सय ६७, भिमाद नगरपालिकामा १ सय ७७ र भानु नगरपालिकामा १ सय ७१ स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ ।

त्यसै गरी, बन्दिपुर गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा ९८, देवघाट गाउँपालिकामा ८७, म्याग्दे गाउँपालिकामा ८२, आँबुखैरेनी गाउँपालिकामा ७३ र घिरिङ गाउँपालिकामा ६१ स्वास्थ्यकर्मीलाई उक्त खोप लगाइने अधिकारीले बताउनुभयो । माघ १९ गतेसम्म खोप लगाइनेछ । अग्र पंक्तिमा खटिएका सरकारी तथा निजी स्वास्थ्य क्षेत्रका स्वास्थ्यकर्मी तथा अन्य अग्रपंक्तिका सेवा प्रदायकलाई खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

खोप लगाएपछि कुनै स्वास्थ्य समस्या नदेखिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले बताउनुभयो । ‘खोप जिल्लामा भित्रिएपछि सुरक्षित महशस गरेका छौं’, सोतीले भन्नुभयो– ‘खोप लगाएर ढुक्क हुनुहोस्, यसको असर देखिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्