गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा : ‘ओलीले राजीनामा दिएको भए इज्जत बढ्थ्यो’



काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी राजीनामा दिएको भए इज्जत बढ्ने बताउनुभएको छ । बुधबार पार्टी एकता राष्ट्रिय अभियान कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले ओलीले संसद् विघटन गरेर नेपालको संस्कृति नै ध्वस्त भएको आरोप लगाउनुभयो । आफूहरुले नयाँ पार्टी बनाउन नलागेको बताउँदै उहाँले आफ्नो अभियानमा धेरैले साथ दिने दाबी गर्नुभयो ।

ओलीले पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरेको बताउँदै गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए ओलीको इज्जत बढ्ने बताउनुभयो । प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने दाबी गर्दै पार्टीमा ठूला नेता विभाजित भए पनि दोस्रो र तेस्रो पुस्ताका नेताहरु अत्यन्त चिन्तित रहेको गौतमले बताउनुभयो । पार्टी विभाजन हुनुमा प्रचण्ड र केपी शर्मा ओलीको बराबर भूमिका रहेको पनि उहाँले बताउनुभयो ।

गौतमले घोषणा गरेको पार्टी एकता राष्ट्रिय अभियानको संगठनात्मक संरचनामा केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने उल्लेख गरिएको छ । यो अधिकतम ६ सय ५१ सदस्यीय हुनेछ । केन्द्रीय समन्वय समितिमा अधिकतम १ सय ७५ जनाको कार्यसम्पादन समिति हुनेछ । दैनिक कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिनेछ । त्यस्तै प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति र त्यसअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहनेछन् । प्रदेश समन्वय समितिमा आवश्यक संख्याको छुट्टै एक सचिवालय रहने संगठनात्मक संरचना सार्वजनिक गरिएको छ ।

सार्वजनिक संरचनामा प्रत्येक जिल्लामा पालिकाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्यव समिति निर्माण गरिने उल्लेख छ । जिल्ला समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुने र जिल्लामा रहेका केन्द्रीय समन्वय समितिका सदस्यहरु आमन्त्रितरुपमा बैठकमा भाग लिनेछन् र पालिकाहरुमा निर्देशकका रुपमा खट्ने जनाइएको छ ।

प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समिति र आवश्यक संख्याको सचिवालय हुने तथा केन्द्रदेखि पालिकातहसम्म आवश्यक सदस्य संख्यामा परिषद्हरु गठन गर्न सकिनेछ । सम्बन्धित समितिका पदाधिकारी तथा सदस्यहरु परिषद्का पदेन पदाधिकारी तथा सदस्य हुने व्यवस्था गरिएको अवधारणापत्रमा उल्लेख छ ।

सबै तहका समितिहरुमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था गरिनेछ तथा केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचारप्रसारका कार्य गर्न थप तीन सहसचिवहरुको व्यवस्था गर्न सकिने जनाइएको छ । अर्को व्यवस्था नभएसम्म अभियानका सबै समिति र सदस्यहरु यसै अवधारणापत्रको व्यवस्थाअनुसार परिचालित हुने अवधारणा पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्