राष्ट्रपतिद्वय बाइडेन र पुटिनबीच टेलिफोन वार्ता



वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति जोय बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनस“गको पहिलो टेलिफोन वार्तामा राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको सम्बन्धमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनले फोन वार्तामा रसियाबाट अमेरिका र अमेरिकी गठबन्धनमा हानी पुग्ने गरी हुन सक्ने कुनै पनि कार्यको अमेरिकाले कडा ढंगले प्रतिवाद गर्ने स्पष्ट पारेको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन् ।

बाइडेन र पुटिनबीचको फोनवार्ता रसियामा हाल भइरहेको विपक्षी राजनीतिक समूहको सरकारविरोधी प्रदर्शनमाथि पनि केन्द्रित रहेको बताइएको छ । बाइडेनले सन् २०१६ मा रसियाले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा गरेको भनिएको हस्तक्षेपलाई इंगित गरेका हुन् ।

रसियाको क्रेमलिनद्वारा सार्वजनिक भएको विज्ञप्तिमा वार्ताको क्रममा कुनै पनि बुँदामा तनाव नभएको बरु वार्ता पूर्णतः व्यावसायिक जस्तो र स्पष्ट भएको बताइएको छ । दुवै नेताले दुई मुलुकका बाँकि रहेका पारमाणविक सम्झौता नवीकरण गर्ने इच्छा रहेको संकेत दिएका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेकाहिँ आफ्नै सरकारले रसियामाथि लिएको कडा रवैयालाई नरम पार्ने गर्दथे भने उनीविरुद्ध पुटिनप्रति निकै सम्मानपूर्वक प्रस्तुत हुने गरेको आरोप पनि लाग्ने गरेको थियो । हुनतः बाइडेनले उपराष्ट्रपतिको भूमिका निभाएको बेला तत्कालीन राष्ट्रपति बाराक ओबामाले पनि रसियाले क्रिमिया कब्जा गरी पूर्वी युक्रेनमा लडाकु फौजलाई समर्थन गर्दा र सिरियामा आफ्नो शक्ति प्रदर्शन गर्दा त्रेमलिनमाथि कुनै दबाब दिन सकेको थिएन ।

पछिल्लो फोन वार्तामा बाइडेनले रसियाबाट अमेरिका र अमेरिकी गठबन्धनमा हानी पुग्ने गरी हुन सक्ने कुनै पनि कार्यको अमेरिकाले कडा ढंगले प्रतिवाद गर्ने स्पष्ट पारेका छन् । पुटिन र बाइडेनबीच मंगलबार अपराह्न यो ऐतिहासिक फोन वार्ता भएको हो ।

यी दुईबीच बृहत् सोलारविन्डस साइवर एटेक, अफगानिस्तानमा अमेरिकी फौजमाथि क्रेमलिनले पुरस्कार तोकेको भन्ने प्रतिवेदन र रुसी विपक्षी अभियन्ता एलेक्सेई नाभाल्नीलाई विष दिइएको जस्ता विषयमा पनि छलछफल भएको थियो । क्रेमलिनले दुई देशबीचको सम्बन्धमा सामान्यीकरण हुँदै जाँदा विश्वको स्थिरता र स्थायित्व चाहने दुवै मुलुकका इच्छामा बल पुग्ने जनाएको छ । जोय बाइडेन भ्लादिमिर पुटिनमाथि ट्रम्पका तुलनामा अझै कडारूपमा प्रस्तुत हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्