कुकुरले अस्पतालबाहिर बिरामी मालिक कु-यो



इस्तानबुल, (एजेन्सी)

टर्कीमा एउटा वफादार कुकुरले झन्डै एक सातासम्म अस्पतालबाहिर आफ्नो मालिकलाई कुरेको खबर अहिले अन्तर्राष्ट्रिय सञ्चार जगतमा चर्चाको विषय बनेको छ । त्यस कुकुरले मस्तिष्क रोगको उपचार गराइरहेका आफ्ना मालिक डिस्चार्ज नहुन्जेल प्रतीक्षा गरेको थियो ।

बोन्कक नामक वर्णशंकर प्रजातीको सानो कुकुर र त्यसको ६८ वर्षीय मालिक सेमाल सेन्तुर्कको उत्तर–पूर्वी शहर ट्राब्जोनस्थित अस्पतालमा भएको भावुक पुनर्मिलनको दृश्य हेर्न लायकको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार मस्तिष्कमा अचानक समस्या देखापरेपछि सेन्तुर्कलाई १४ जनवरीमा अस्पतालमा भर्ना गरिएको थियो । आफ्नो मालिकलाई राखिएको एम्बुलेन्सलाई पछ्याउँदै त्यो कुकुर अस्पताल पुगेको थियो ।

त्यसपछि प्रत्येक बिहान अस्पतालबाहिर गएर त्यसले मालिकलाई कुर्न थालेको थियो । त्यसलाई कहिलेकाहिँ त्यहाँ अस्पतालका कर्मचारीहरूले खाना ख्वाउने गरेका थिए । कसैलाई भुक्ने र टोक्ने स्वभावको नभएकाले र आफ्नो मालिकप्रतिको त्यसको माया र वफादारिता दखेर कसैले पनि त्यसलाई अस्पताल परिसरबाट नधपाएको बुझिएको छ । सेन्तुर्ककी छोरीले पटक–पटक त्यसलाई घरमै राख्न चाहेको तर त्यो सबैका आँखा छलेर भए पनि दौडेर अस्पताल पुग्ने गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्