निर्वाचन अनिश्चित, मतदाता नामावली अद्यावधिक आज



नेपाल समाचारपत्र, काठमाडौं ।

आउँदो वैशाख १७ र २७ गते घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि देशभरका स्थानीय तहमा आज विहीबार मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदै छ । प्रतिनिधिसभाको विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेका बेला निर्वाचनको भित्रभित्रै तयारी गरिरहेको आयोगले पहिलो कार्यक्रमका रुपमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

देशभरका ७ सय ५३ वटै स्थानीय तहमा सो कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ । कार्यक्रमअनुसार पहिलो दिन मतदाता नामावली प्रकाशित गर्ने, माघ १६ देखि १८ सम्म त्यसमाथि उजुरी आह्वान गर्ने रहेको छ । त्यस अवधिमा कुनै मतदाताको नाम र विवरण त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, झुटा विवरण दिएर मतदाता नामावली सिफारिस गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नामावली हटाउने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा रद्द गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने क्रियाक्रलापहरु हुने आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा विघटन भएको दिन २०७७ पुस ५ गते आइतबारसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय गरेको छ । अदालतको फैसला आएपछि मात्र तयारी थालेर वैशाखमा चुनाव गर्न नभ्याइने भएकाले आयोगले अहिलेदेखि नै गृहकार्य थालेको हो ।

आयोगले माघ २० गतेसम्म मतदाता नामावलीको काम सकाएर माघ २१ गते अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । दाबी विरोधमाथि छानबिन गरेर अन्तिम नामावली तयार गर्न फागुन २१ सम्म लाग्छ ।

मतदाताहरुको अन्तिम नामावली तयार भएपछि मात्र समानुपातिक र प्रत्यक्ष दुवैतर्फको उम्मदेवारी आह्वान गर्न सकिन्छ । दलहरुलाई समानुपातिक उम्मेदवारको सूची बुझाउनका लागि पर्याप्त समय चाहिने भएकाले चा“डो मतदाता नामावलीको टुंगो लगाउनुपर्ने हुन्छ ।

मतदान केन्द्रहरुको व्यवस्थापन र मतदाता नामावलीको टुंगो लगाउने कामबाहेक आयोगले मत्रपत्रको छपाइ, सामान खरिदसम्बन्धी टेन्डर एवं दाताहरुसँगको छलफललाई पनि निरन्तरता दिइरहेको आयोगका अधिकारीहरु बताउँछन् ।
आयोगले अब चाँडै दल दर्ताका लागि आह्वान गर्ने तयारी गरिरहेको छ । तर, यसका लागि नेकपाभित्रको विवाद निरुपण हुन नसकेकोलाई निर्वाचनको चुनौतीका रुपमा आयोगले लिएको छ । दलको विवाद निरुपण गर्न कानुनतः तीन महिना अर्थात् ९० दिन लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्