वर्षमा झन्डै १८ अर्ब डलर कमाउने कुख्यात त्से पक्राउ



मोन्ट्रियल, (एजेन्सी)

चीनमा जन्मेका क्यानाडाली तथा एसियाको ‘एल चापो’ को उपनामले पनि चिनिने कुख्यात अपराधी ५७ वर्षीय त्से ची लोप शुक्रबार एम्सटर्डम्समा पक्राउमा परेका छन् । उनी एक वर्षमै झन्डै १७ अर्ब ७० करोड अ‍ेमरिकी डलर कमाउने एसियाको अपराधको इतिहासमै सबैभन्दा खतरनाक समूह ‘दि कम्पनी’ का नाइके हुन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललगायत अन्य सुरक्षा निकायले ‘दि कम्पनी’ लाई ‘साम गोर’ को नामले चिनाउने गरेका छन् । त्सेले साम गोरको अवैध गतिविधिहरू विशेषगरी हङकङ, मकाउ र दक्षिणपूर्वी एसियामा सञ्चालन गर्दै आएको बुझिएको छ । तर, उनीविरुद्ध पक्राउ पुर्जी अस्ट्रेलियाली सरकारले सन् २०१९ मै जारी गरेको हो ।

अस्ट्रेलियामा आइपुग्ने अवैध लागुऔषधमध्ये सत्तरी प्रतिशतका लागि त्सेलाई जिम्मेवार ठह-याइएको छ । उनको समूहले लामो समयदेखि अस्ट्रेलियालाई ठूलो परिमाणमा लागुऔषध को आयात र वितरण गर्ने थलोको रूपमा प्रयोग गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ । अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) लाई उद्धृत गर्दै स्काई न्युजले तिनीहरूले अवैध ढंगबाट आर्जन गरेको रकम अस्ट्रेलियाबाट अन्यत्र लाने गरेको उल्लेख गरेको छ ।

साम गोरले विश्वका कम्तिमा एक दर्जन मुलुकमा टनका टन मिथएम्फेटामाइन, हेरोइन र केटामाइनको कारोबार गर्दै आएको बताइएको छ । तर, तीमध्ये पनि त्सेको मुख्य कारोबार भने मिथएम्फेटामाइनमा केन्द्रित रहेको बुझिएको छ । सन् १९९८ मा अमेरिकामा हेरोइन आयात गरेको अभियोगमा दोषी ठहरिएका त्सेले ६ वर्ष लामो कारावास सजाय भोगेका थिए ।

प्रतिक्रिया दिनुहोस्