जसपाको आरोप : ‘देउवाको बदमासीले बर्बाद’



मधुसूदन रायमाझी, काठमाडौं ।

प्रतिनिधिसभा विघटनका विरुद्धमा आन्दोलनरत जनता समाजवादी पार्टीभित्र आन्दोलनमा जाने विषयमा विवाद चुलिएको छ । सरकारले संसद् विघटन गरेलगत्तै आन्दोलनको घोषणा गरेको जसपाभित्र आन्दोलनमा जाने÷नजाने विषयमा शीर्ष नेताहरुको बीचमा विवाद चुलिएको हो ।

शीर्ष तहमा विवाद चर्किंदै गएपछि पार्टीको बैठकसमेत बस्न सकिरहेको छैन । जसपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम माघ ७ गते सम्पन्न गरिसकेको छ । तर बैठक नै बस्न नसक्दा थप आन्दोलनको कार्यक्रम घोषणा हुन सकेको छैन । जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभा पुनस्र्थापनका लागि पार्टी सशक्तरुपमा आन्दोलन जाने बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले पार्टीभित्र आन्दोलनमा जानुपर्छ भन्नेमा कुनै विवाद छैन, अहिलेको सवाल संविधान र व्यवस्था बचाउने हो ।’केही दिनभित्र नै पार्टीको बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा हुने बताउँदै यादवले कांग्रेस सभापति शेरबहादुर देउवाको कारण देश बर्बाद हुने अवस्थामा पुग्न लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– ‘संविधानको हत्या प्रयास गरिएको छ, व्यवस्था नै मास्न लागिएको छ, कांग्रेसका सभापति देउवा दाउ हेरेर बस्नुभएको छ, लोकतन्त्रवादी भन्ने कांग्रेसले दह्रो खुट्टा नटेक्दा झन् गम्भीर समस्या सृजना भइरहेको छ ।’ तर मंगलबार नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सभापति देउवाले संसद् विघटनको निर्णय सर्वोच्च अदालतले सदर गर्ने फैसला गरेको अवस्थामा निर्वाचनमा जानुपर्ने नीति लिएपछि स्वयं कांग्रेसभित्र नै विवाद हुँदै आएको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक संसद् विघटनका विरुद्ध आन्दोलनमा जानुपर्ने अडान लिएपछि पार्टीले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

जसपाले संसद् विघटनका विरुद्ध कांग्रेसले आन्दोलनलाई अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संविधानको रक्षा गर्न र अहिलेको व्यवस्था बचाउनका लागि संसद् पुनस्र्थापनको विकल्प नभएको जसपाले निष्कर्ष निकालेको छ ।

जसपाभित्र कांग्रेसजस्तै आन्दोलनमा जाने नजाने विषयमा मतभेत रहेको छ । प्रतिनिधिसभाले मात्र समस्या समाधान नहुने धारणा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले निकालेका छन् । तर जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले प्रतिनिधिसभा पुनस्र्थापना मात्र एक विकल्प रहेको बताउँदै आएका छन् ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा पुनस्र्थापनका लागि पार्टीले आन्दोलनलाई सशक्त बनाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘अहिले संविधान जोगाउन आन्दोलन गर्नुको विकल्प छैन, पार्टीले दायाँबायाँ नगरी आन्दोलनको घोषणा गर्छ ।’ महतोले नेताहरु राजधानीबाहिर भएकाले बैठक बस्न नसकिरहेको बताउँदै केही दिनभित्र नै बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्