९ हजार ८४ जनाले लगाए कोरोनाविरुद्धको खोप



भगवती तिमल्सिना, काठमाडौं ।

बुधबारदेखि देशभर अभियानकैरुपमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भएको छ । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत हिजो बुधबार ९ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रदेश १ का १ हजार २ सय ५५, प्रदेश २ का ७ सय २६, बागमतीका २ हजार ६ सय ९४, गण्डकीका १ हजार ८ सय ४३, लुम्बिनीका ७ सय ३३, कर्णालीका ७ सय ५१ र सुदूरपश्चिम प्रदेशका १ हजार ८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

खोप कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देशसँगै गरिएको थियो । कोरोनाले आम मानव जातिमा दुःखसँगै केही परिवर्तनको शिक्षा दिएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सकारात्मक पक्षमा खानपिन तथा आनीबानीमा समेत परिवर्तन ल्यायो । जीवन र प्रकृतिको सम्बन्धलाई पनि फर्काउने काम ग¥यो ।’

‘नकारात्मक भनेको कोरोनाले विश्वका करोडौं मानिसलाई कष्ट दियो र लाखौं मानिसको ज्यान लियो’, प्रम ओलीले भन्नुभयो– ‘त्यसैले सरकार कोरोनाविरुद्ध लड्नका लागि पहिलो दिनदेखि नै लागिपर्दै आएका छ । हाम्रो मान्यता भनेकै रोग र भोकबाट जनतालाई मर्न दिनुहुँदैन भन्ने नै हो ।’

उहाँले कोरोनाविरुद्धको खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभयो । सोही अवसरमा उहाँले अरु मित्रराष्ट्रसँग पनि कुराकानी गरेर खोप किन्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले पहिलो चरणमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’को १० लाख डोज खोप भारतले नेपाललाई उपहार पठाएको बताउनुभयो ।

बुधबारै खोप शुरुआतका विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना दिनुभएको छ । उहाँको सन्देश स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पढेर सुनाउनुभएको थियो । उहाँको सन्देशमा ‘विश्वमा कोभिड १९ विरुद्धको खोपको समुचित वितरण हुनुपर्छ भन्ने नेपालको स्पष्ट दृष्टिकोण रहँदै आएको उल्लेख छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको प्राङ्गणमा खोपको पहिलो डोज देब्रे पाखुरामा लगाएर खोपको शुरुआत गर्नुुभयो । उहाँले नेपालमा पहिलो कोरोना संक्रमणको बिरामी परीक्षणका लागि भर्ना भएको ठीक एक वर्ष दुई हप्ता बितेकै दिन नेपालमा कोरोना खोपको शुरुआत टेकु अस्पतालबाट गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सोही अवसरमा सबैलाई निर्धक्क भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रहसमेत गर्नुभएको थियो ।

यो खोप शून्य दशमलव ५ एमएम पहिलो डोजमा लगाइन्छ र दोस्रो डोज ४ हप्तापछि लगाइन्छ । उहाँले अहिलेसम्म कोरोना विरुद्धको खोप लगाउँदा कुनै अप्रिय घटना नघटेकाले कुनै द्विविधा नलिन पनि अनुरोध गर्नुभयो । त्यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले पहिलो खोप लगाउनुभएको अस्पतालले जनाएको छ । त्यस्तै एपीएफ अस्पतालमा डा. प्रवीण नेपालले पहिलो खोप लगाउनुभएको छ ।

बुधबारै भक्तपुर अस्पतालमा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले पहिलो खोप लगाएर खोप अभियानको शुरुआत गर्नुभयो । भक्तपुरमा चाँगुनारायण र भक्तपुर नगरपालिकाका लागि भक्तपुर अस्पताल तथा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका लागि नेपाल कोरिया मैत्री अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको शुरु गर्नुभयो । पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाउनुभयो ।
झापामा पनि टेकुमा खोप लगाउन शुरु भएसँगै मेची प्रादेशिक अस्पतालका डा. मनीष सुवेदीले पहिलो खोप लगाउनुभएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले खोप लगाउने अभियानको शुरु गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले पहिलो खोप लगाएर खोप अभियानको शुरुआत गर्नुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेपछि पहिलो खोप स्वास्थ्य निर्देशक अवस्थीले लगाउनुभएको हो ।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई प्राथमिकतामा राखी खोप दिइने विषयमा एक साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सञ्चारकर्मीलाई जानकारी गराउनुुभएको थियो । मन्त्री त्रिपाठीले भनेअनुसार सबै प्रदेशमा पहिलो खोप चिकित्सकलाई दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, प्रदेश २ मा भने कोरोनाको पहिलो खोप आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले लिनुभएको छ । खोप अभियानको जनकपुरमा उद्घाटन गर्दै मन्त्री यादवले कोरोनाको पहिलो खोप आफैले लिनुभएको थियो । मन्त्री यादवलाई स्वास्थ्यकर्मी सुनिता यादवले खोप दिनुभएको थियो ।

देशभरिका ३ सय खोप केन्द्रहरुमार्फत १० दिनभित्र ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बुधबारबाट शुरु गरिएको कोरोनाविरुद्धको खोप १८ वर्ष माथिका लक्षित वर्गलाई पूरा भएपछि दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र उच्च जोखिमा रहेका व्यक्तिहरुलाई लगाउने कार्यक्रम रहेको टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले जानकारी गराउनुभयो । टेकु केन्द्रमा २ हजार ९ सय ९४ जना स्वास्थ्यकर्मीलगायत पहिलो चरणमा तोकिएका व्यक्तिलाई खोप लगाउने लिस्ट तयारी अवस्थामा रहेको उहाँले जानकारी गराउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले खोप सुरक्षित भएकोले सबै महिला दिदीबहिनीहरुले पनि विना डरत्रास खोप लगाउन आग्रह गर्दै देशको प्रयासप्रति गर्व लागेको बताउनुभयो । टेकु अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोलाले यो सामान्य खोप जस्तै भएको बताउनुभयो । उहाँले यो खोप लगाउने दोस्रो व्यक्ति हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कोरोनाविरुद्धको खोप शुरु गरिएको पहिलो दिन स्वास्थ्य मन्त्रालयले २४ घण्टाको स्वास्थ्य विवरण सार्वजनिक गर्दै आएको दैनिक रिपोर्टअनुसार २ सय ८३ जना संक्रमित भएका छन् भने २ सय ४६ जना डिस्चार्ज र ३ जनाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेडियोलोजिस्टका रूपमा कार्यरत भई सेवानिवृत्त हुनुभएका डा. नेत्रबहादुर अमात्यले टेकु पुगेर खोप लिनुभएको हो । उहाँले खोप लिँदै खुसी व्यक्त गर्दै भन्नुभयो– ‘मैले त लिएँ सबै नेपाली नागरिकलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्