यसरी शुरु भयो काभ्रेमा कोरोनाविरुद्धको खोप, स्वास्थ्यकर्मीमा भरियो उत्साह



मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड विरुद्धको खोप शुरु भएको छ । देशभर एकै साथ नेपालमा शुरु भएको खोप काभ्रेपलाञ्चोक जिल्लामा पनि शुरु भएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, एम्बुलेन्स चालक तथा अस्पतालमा कार्यरत सुरक्षागार्ड, शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लगाईनेछ । जिल्लामा ३ हजार ५ सय ८१ जनालाई पहिलो चरणको खोप लगाईने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

धुलिखेल अस्पतालबाट खोप कार्यक्रम शुरु भएको डा. झाले बताउनु भयो । ‘पहिलो खोप आफैबाट शुरु गरेको छु’–डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘सबै स्वास्थ्यकर्मीको मनोबल खोपका कारण बढेको छ ।’ दोश्रो खोप काठमाडौ विश्वविद्यालयका डिन प्रोफेसर डा. राजेन्द्र कोँजुले लगाउनु भयो भने तेश्रो खोप धुलिखेल अस्पतालका प्रशासकिय प्रमुख प्रो डा. रमेश माकजुले लगाउनु भयो । उहाँहरुलाई सिएमए/अनमी हेमा संग्रौला र रिता रिजालले खोप लगाई दिनु भएको थियो ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालयका पुर्व उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठ, जिल्ला समन्वय समिति काभ्रेका प्रमुम उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

दैनिक ८ सय ब्यक्तिलाई खोप लगाउन सकिने गरी धुलिखेल अस्पतालले ब्यवस्थापन गरेको डा. दिपेश ताम्राकारले बताउनु भयो । धुलिखेल अस्पतालको अलावा जिल्लाको मेथिन्कोट अस्पतालमा खोप लगाउने ब्यवस्था गरिएको छ । मेथिन्कोटमा चारवटा पालिकाको सहभागिता रहनेछ । जिल्ला संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले खोप सामाग्री अस्पतालमा हस्तान्तरण गर्नु भएको थियो ।

समितिका सल्लाहकार जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु लगायतले कोभिड १९ विरुद्धको खोप सुरक्षित रुपले लगाउन अनुरोध गर्नु भयो । जिल्लामा सरकारी तहका स्वास्थ्यकर्मि ७ सय ४९, नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १ हजार ३ सय ६८, महिला स्वंसेवीका ९ सय ५५ जना, सरसफाईकर्मी १ सय ११ जना, एम्बुलेन्स चालक ४४ जना र शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालमा खटिने सुरक्षागार्ड गरी १ सय २६ जनालाई खोप लगाउने गरी सूचिकृत गरिएको संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

खोप लगाउनु पुर्व स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, मेथिन्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तरिकाका बारेमा प्रशिक्षण दिईएको थियो ।
खोप लगाउन आउनेहरुको परिचयपत्र हेरेर, खोप लगाएको परिचयपत्रमा हस्ताक्षर गराएर, ज्वरो आए नआएको परिक्षण गराएर र शरिरमा कुनै प्रकारका समस्या भए खोप लगाउन नहुने बताईएको छ । खोप लगाए पछि आधा घण्टासम्म अस्पतालमै बस्ने ब्यवस्था मिलाईएको छ । खोपबाट हुन सक्ने समस्या आउन नदिन र आई हाले त्यसको तयारीका लागि सबै ब्यवस्थापन गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो । धुलिखेल अस्पतालले सबै खालको ब्यवस्थापन गरेको डा.सुमन ताम्राकारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्