मेसुलाई पहिलो खोप हेटौंडामा शुरु भयो कोभिड–१९ खोप अभियान



न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड–१९) खोप अभियान सुरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठलाई खोप हस्तान्तरण गर्दै कोरोनाविरुद्ध खोप शुरु गर्नुभएको हो ।

कोरोनाविरुद्ध पहिलो खोप हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले लगाउनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेशका जनताको स्वास्थ्य उपचार गर्न प्रदेश सरकारले आफ्नो स्रोतसाधन र जनशक्ति परिचालन गरेको बताउनुभयो ।
उहाँले कोभिड खोप जनतामा पु-याउन संघीय सरकारले समयमै निकै मेहनतसाथ काम गरेको चर्चा गर्दै सरकार जनताप्रति जिम्मेवार र जवाफदेही रहेको उल्लेख गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपेन्द्र काफ्लेले संघीय सरकारले कोभिड खोप उपलब्ध गराएअनुसार बागमती प्रदेशका १३ जिल्लामा ६४ हजार एक सय ९२ जना नागरिकलाई खोप लगाउने कार्यक्रम राखिएको भन्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । प्रदेशका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोपकेन्द्र स्थापना गरिएको सचिव काफ्लेले जानकारी दिनुभयो ।

कोरोनाविरुद्ध भ्याक्सिन प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत् हेटौंडा–१ मा रहेको प्रदेश आपूर्ति केन्द्रमा भण्डारण गरिएको छ । संघीय सरकारले भारतको सहयोगमा ल्याएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध भ्याक्सिन ‘कोभिसिल्ड’ हेटौंडामा सोमबार आइपुगेको हो । बागमती प्रदेश आपूर्ति व्यबस्थापन केन्द्रको हेटौंडास्थित कार्यालयमा ७६ हजार डोज कोरोना खोप आएको छ ।

प्रदेशका ३ जिल्ला तथा प्रदेश–२ का ६ जिल्लाका लागि कोरोनाविरुद्ध खोप आएको प्रदेश आपूर्ति व्यबस्थापन केन्द्र प्रमुख वसन्त अधिकारीले बताउनुभयो । अधिकारीले प्रदेशको सिन्धुली, चितवन र मकवानपुरलाई प्रदेश आपूर्ति केन्द्रबाट खोप पठाइने र तराईका ६ जिल्लामा भण्डारण व्यबस्था नहुँदा त्यसका लागि पनि खोप हेटौंडामा राखिएको बताउनुभयो ।

पहिलो चरणमा फोहोरमैला व्यबस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यबस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोपकेन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयम्सेवक, शव व्यबस्थापनमा खटिएका, स्वास्थ्य स्वयम्सेवक, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत् स्वास्थ्यकर्मी र स्वयम्सेवकलाई खोप दिने तयारी भएको स्वास्थ्य निर्देशनालय प्रदेश निर्देशक रमेश अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार सबभन्दा धेरै काठमाडौंमा १२ वटा केन्द्रबाट खोप लगाइने छ । करिब ४० हजार जनालाई काठमाडौंका १२ स्थानबाट खोप लगाउने तयारी भएको हो । पहिलोपटक लगाएको ४ सातापछि दोस्रो चरणको खोप लगाउनुपर्ने निर्देशक अधिकारीले बताउनुभयो ।

प्रदेशका चितवन, ललितपुरमा ३/३ वटा केन्द्रबाट खोप लगाइने छ । सिन्धुली, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, भक्तपुर, दोलखामा २/२ वटा केन्द्रबाट खोप लगाइनेछ भने मकवानपुर र रसुवा जिल्लामा एक/एक केन्द्रबाट कोभिडविरुद्ध खोप लगाइने निर्देशक अधिकारीले बताउनुभयो । उहाँले खोपको असर देखापरे तुरुन्त चिकित्सकको टोली उपलब्ध हुने स्थानमा मात्र खोपकेन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

काठमाडौंबाहेक रामेछापमा १ हजार ४ सय १६, सिन्धुलीमा १ हजार ४ सय ८०, ललितपुरमा ७ हजार ८ सय १२, रसुवामा ७ सय ५७, चितवनमा ३ हजार ७ सय ४१, काभ्रेमा ३ हजार ६ सय ३८, नुवाकोटमा २ हजार ४ सय, दोलखामा २ हजार १ सय ४२, भक्तपुरमा ३ हजार ८ सय ४५, सिन्धुपाल्चोकमा १ हजार ७ सय ७३, धादिङमा १ हजार ५ सय ९, मकवानपुरमा २ हजार २ सय ८९ जनालाई पहिलो चरणको खोप दिइनेछ ।

खोप लगाउन आउनेहरुको परिचयपत्र हेरेर, खोप लगाएको परिचयपत्रमा हस्ताक्षर गराएर, ज्वरो आए/नआएको परीक्षण गरेर र शरीरमा कुनै प्रकारका समस्या भए खोप लगाउन नहुने बताइएको छ । खोपबाट हुनसक्ने समस्या आउन नदिन र आइहाले त्यसको तयारीका लागि सबै व्यबस्थापन गरिएको बताइएको छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिनेछ ।

बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मकरुपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह नगर्दा अधिकांश नागरिकले खोपबारे शंका व्यक्त गर्न थालेका छन् ।

केही सर्वसाधारणले खोप लगाएपछि झन् खतरा हुने आशंका गर्दै खोप नलगाउने प्रतिक्रिया दिन थालेका छन् । सरकारले खोपका लागि व्यबस्थापकीय तयारी गरे पनि खोपबारे जनचेतना जागरण गर्नुपर्ने जनस्वास्थ्यविज्ञहरु बताउँछन् । ‘कोभिसिल्ड’ खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरुपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । खोपको अनुगमन जिल्ला कोभिड–१९ खोप समन्वय समितिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्