एपीएफको आर्मीमाथि शानदार जित



नेपाल समाचारपत्र, काठमाडौं ।

जारी राष्ट्रिय महिला फुटबल लिगमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि २–० को शानदार जित हासिल गरेको छ । मंगलबार भएको खेलमा एपीएफलाई जित दिलाउन अञ्जली योन्जन र सरु लिम्बूले गोल गरेका हुन् । पहिलो हाफमा गरेको दुई गोल नै एपीएफलाई जित दिलाउन पर्याप्त भयो ।

लगातार तेस्रो जितपछि विभागीय टिम एपीएफ ९ अंकसहित शीर्ष स्थानमा रह्यो । दोस्रो र तेस्रो स्थानमा पनि विभागीय टिमहरू क्रमशः नेपाल पुलिस क्लब र आर्मी रहेका छन् । पुलिसको ५ अंक छ भने आर्मीको ४ अंक छ । जारी राष्ट्रिय महिला फुटबल लिगमा पुलिसले फेरि बराबरी नतिजा बेहोरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले वालिङ नगरपालिकासँग १–१ बराबरी नतिजा बेहोरेको हो । पुलिसको यो जारी लिगमा तेस्रो खेल थियो, जुन दोस्रो बराबरी नतिजा पनि थियो ।

यसअघि, पुलिसले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो । यसपछि पुलिसले दोस्रो खेलमा चौदण्डीगढीलाई ६–० ले हराएर लयमा फर्केको थियो । तर, तेस्रो खेलमा पुलिसलाई वालिङले बराबरीमा रोक्यो । त्यसो त यो खेलमा पुलिस एक गोलले पछि परे पनि बराबरी गर्न सफल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा मेथो इलुडाई रथले गोल गर्दै वालिङलाई १–० को अग्रतामा राखेकी थिइन् । उनले ५३औं मिनेटमा एकल प्रयासमा गोल गरेकी थिइन् । तर, वालिङको सो अग्रता धेरै बेर टिक्न सकेन । पुलिसकी रेखा पौडेलले ६५औं मिनेटमा गरेकी थिइन् । उनले अमृता जैसीको फ्रिकिक प्रहारमा गोल गर्दै टिमलाई बराबरीमा ल्याएकी थिइन् । त्यसपछि, दुवै टिमले गोल गर्न नसक्दा एक–एक अंक बाँडेका थिए ।
तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्