अन्ततः बन्ने भो डोमालाल रंगशाला



रमेश समदर्शी, बिर्तामोड ।

दुर्गा स्थान गुठीको जग्गा व्यक्तिको नामबाट गुठीमै फिर्ता आएपछि सो जग्गामा रहँदै आएको डोमालाल राजवंशी रंगशाला निर्माण गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । नगरपालिकाले मंगलबार नगर कार्यालयमा गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले त्यसका लागि काम सुरु गरिएको जानकारी दिए ।

नगरले रंगशाला निर्माण कार्यमा सरोकारवाला सबैमा सहयोगको अपेक्षा समेत गरेको छ । २०७७ माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई केशवप्रसाद बिमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका थिए । नेपाल सरकारको सहसचिव समेत रहेका बिमलीले आमा टिकादेवी बिमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेका हुन् ।

साविक अनारमनी गाविस वडा नम्बर ५ कित्ता नम्बर १२०, ८२२, ८२५ र ८१५ को जग्गा विभिन्न कालखण्ड हुँदै बिमलीका आमा टिकादेवीको नाममा दर्ता हुन पुगेको थियो । बिमलीले आमाको आफू एक मात्र हकदार भएकाले मोही लगत कट्टा समेत गरी सो जग्गा गुठीलाई फिर्ता दिन उल्लेख गरेका छन् ।

बिमलीको निवेदनपछि बिर्तामोड ३ मा रहेको डोमालाल राजवंशी रंगशाला भएको जग्गा गुठीकै नाममा फिर्ता भएको छ । अब कित्ता नम्बर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार बिमलीको नाममा रहेको छ । बिर्तामोड ३ को गुठीका नाममा रहेको जग्गा फिर्ता ल्याएको प्रसंगमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भने, ‘राज्यको सम्पत्ति व्यक्तिको नाममा भएको थियो ।

त्यसलाई राज्यकै मातहत ल्याउन आवश्यक थियो । स्थानीय बासिन्दाको सहयोगमा यो काम सम्पन्न भएको हो ।’ खरेलकै पहलमा बाँकी १५ कठ्ठा जग्गा पनि फिर्ता ल्याउन पहल गर्ने नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंले बताइन् ।

प्रतिक्रिया दिनुहोस्