प्रम ओलीलाई नेपालको चुनौती



नेपाल समाचारपत्र, ताप्लेजुङ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले पूर्व एमाले पार्टीलाई १५ वर्ष आफूले नेतृत्व गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको मामुली कार्यकर्ताको संज्ञा नदिन र नजिस्काउन चेतावनी दिनुभएको छ । मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेकपा प्रचण्ड–नेपाल पक्षले ताप्लेजुङमा आयोजना गरेको विरोधसभामा बोल्दै उहाँले चेतावनी दिनुभएको हो ।

ओलीले प्रधानमन्त्री भएको ३ वर्षमा देश नै अँध्यारोतिर धकेलेको नेपालको भनाइ छ । ओलीको कुनै पार्टी नभएर एउटा सानो गुट मात्र भएको भन्दै उहाँ भन्नुहुन्छ– ‘यदि अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ ।’ निर्वाचन आयोगले ४ सय ४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उहाँ नेकपाको अध्यक्ष नरहेको नेपालको कथन छ ।

नेकपासँगै सूर्य चिह्न पाउने आशा मार्न पनि नेपालले ओलीप्रति कटाक्ष गर्नुभयो । त्यसै गरी, पाथीभराको कोखबाट जन्मिएकाले आफू सधैं सत्यको बाटोमा हिँड्ने पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि ‘कू’ गरेकाले उहाँलाई समर्थन गर्न नसकेको भट्टराईको कथन छ ।

‘प्रम ओलीले २०७४ सालको निर्वाचनामा ताप्लेजुङ आएर मेरा लागि भोट माग्नुभएकै हो, तर अहिले उहाँले प्रतिनिधिसभा विघटन गरेर संविधानविरोधी कदम चाल्नुभयो, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गर्नुभयो’, भट्टराईले भन्नुभयो, ‘त्यसैले प्रतिगमनको पक्षलाई समर्थन गर्न सकिनँ ।’ प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने उहाँको दाबीसमेत छ ।

प्रतिक्रिया दिनुहोस्