राजनीतिको चक्रव्युहमा पाँच रुपियाँको भ्याक्सिन



  • रोशन पराजुली, हेटौंडा ।

सत्तामा रहेको नेकपाको आन्तरिक विवाद छताछुल्ल भएका बेला स्पष्टरूपमा विभाजित स्थानीय निकायका जनप्रतिनिधिले किसानका लागि ५ रुपियाँ तिरिदिने चासो नदिँदा मकवानपुरका लाखौं पशु सम्भावित कडा रोगको जोखिममा छन् । मकवानपुरका १० मध्ये ८ स्थानीय तहमा नेकपाका जनप्रतिनिधि निर्वाचित छन् ।

पशु प्राविधिकलाई ५ रुपियाँ पारिश्रमिक दिएर लगाउन पाइने भ्याक्सिनले लाखौं पशुधन संरक्षण हुन सक्छ । तर, त्यही ५ रुपियाँ स्थानीय सरकारले तिर्न चासो नदेखाएका कारण हजारौं किसान लाखौंको घाटा बेहोर्न बाध्य छन् । बाख्रामा लगाउन बजेट अभाव हुँदा हेटौंडास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पीपीआर रोगविरुद्धका लगभग ७० हजार भ्याक्सिन थन्किएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसी बताउनुहुन्छ ।

अघिल्लो वर्ष आएको भ्याक्सिन केही पालिकाले मात्र लगेको भन्दै उहाँले पशुलाई लगाउने भ्याक्सिनतर्फ स्थानीय सरकार गम्भीर नबनेको दाबी गर्नुभयो । अघिल्लो वर्ष बजेट अभावका कारण पीपीआर भ्याक्सिन लगाउन नपाएका किसानका लागि यस वर्ष प्रदेश सरकारको लगानीमा भ्याक्सिन लगाइने उहाँले जानकारी दिनुभयो ।

‘एउटा भ्याक्सिन लगाउँदा प्राविधिकलाई ५ रुपिया“का दरले पारिश्रमिक दिनुपर्ने हुन्छ । ७० हजार भ्याक्सिन लगाउन ३ लाख ५० हजार चाहिन्छ । हामीसँग उक्त शीर्षकमा बजेट छैन । त्यसैले भ्याक्सिन थन्किएको हो’, वरिष्ठ पशु विकास अधिकृत केसीले भन्नुभयो– ‘स्थानीय तहले आफ्नै प्राविधिक खटाएर भ्याक्सिन लगाउन सक्छन् । भ्याक्सिन लैजान सबै स्थानीय तहमा पत्राचार ग¥यौं । तर, सबै पालिकाबाट माग भएन ।’

पीपीआर भाइरसका कारणले बाख्रामा लाग्ने रोग निवारण गर्न पीपीआरविरुद्ध भ्याक्सिन दिने गरिन्छ । रोग लागेपछि निको नहुने भएका कारण रोग लाग्न नदिने एकमात्र उपाय पीपीआरविरुद्ध भ्याक्सिन दिनुपर्ने हुन्छ ।गत आर्थिक वर्षको अन्त्यमा पशु सेवा विभागबाट हेटौंडामा प्राप्त पीपीआर भ्याक्सिन लगाउने पशु प्राविधिकलाई दिनुपर्ने पारिश्रमिक नहुँदा पशु सेवा विज्ञ केन्द्रमा भ्याक्सिन ‘स्टोर’ गरेर राखिएको छ ।

भ्याक्सिन पालिकाले खरिद गरेर स्थानीयस्तरका बाख्रापालक किसानलाई निःशुल्करूपमा उपलब्ध गराउनुपर्ने नियम छ । तर, मकवानपुरका केही स्थानीय निकायले पीपीआर भ्याक्सिन लगाउनेतर्फ सोच नै नबनाएका कारण बाख्रापालक किसान समस्या झेल्दै आएका छन् । हेटौंडा–११ नवलपुरकी देवकी घिमिरेले पुस दोस्रो साता २५ हजार तिरेर किनेको ४ वटा बोकामध्ये एउटा पीपीआरका कारण मरेको छ । बोकाहरु बेचेर दशैं खर्च टारौंला भन्ने सोचले उहाँले ४ वटा बोका किनेर पाल्नुभएको थियो ।

घरमा लगेको १ महिनामै ४ वटै बोकालाई पखाला लाग्यो । पखाला लाग्ने, ज्वरो आउने तथा काँप्ने जस्ता लक्षण देखिएको १ हप्ता पनि नबित्दै एउटा बोकाको ज्यान गयो । ३ वटा पनि बाँच्ने स्थितिमा नभएको घिमिरे बताउनुहुन्छ । ‘यस्तो रोग लागेपछि उपचार हुन मुस्किल हुन्छ रे । अगाडि नै भ्याक्सिन लगाएको भए यो रोग नै लाग्ने थिएन ।

पहिला यस्तो केही थाहा थिएन । जब रोग लाग्यो, त्यसपछि मात्र उपचार नलाग्ने रोग रहेछ भन्ने थाहा भयो ।’ –उहाँले भन्नुभयो । टोलमा हालसम्म उहाँका बोकाहरुलाई मात्र रोग देखापरे पनि छिमेकीका बाख्रालाई पनि सर्न सक्ने पशु चिकित्सकले बताएका छन् । सरुवा रोग भएका कारण छिमेकीहरु कसरी आफ्नो खोरका बाख्रा बचाउने भन्नेमा चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्