इटालीका प्रधानमन्त्री कोन्टे राजीनामा दिने सोचमा



रोम, (एजेन्सी)

इटालियन प्रधानमन्त्री गिउसेप्पे कोन्टेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई लिएर आफूले गरेका कामको आलोचना हुन थालेपछि पदबाट राजीनामा दिने सोचमा पुगेका छन् । कोभिड–१९ संक्रमणको कारण ८५ हजारभन्दा बढी इटालियनको ज्यान गइसकेको छ । इटालीका राष्ट्रपति सर्गियो म्यात्तारेल्लालले कोनटेलाई नयाँ तथा शक्तिशाली सरकार बनाउन वैधानिक अधिकार प्रदान गर्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ ।

कोन्टेले सिनेटमा आफ्नो बहुमत गुमाएका छन् । यदि, उनले नयाँ सरकार बनाउन नसकेको खण्डमा ताजा चुनाव गराउनुपर्ने स्थिति आउन सक्छ । कानुन विषयका प्राध्यापक तथा सन् २०१८ यता दुईपटक गठबन्धन सरकारको नेतृत्व गरिसकेका कोन्टेले राष्ट्रपति मात्तारेल्लासँग भेटवार्ता गर्दै छन् । मंगलबार बिहान सबेरै कोन्टेले आफ्नो मन्त्रीमन्डललाई आफूले पक्कै राजीनामा दिने जानकारी दिएका थिए ।

गतसाता मात्र उनी संसद्को तल्लो सभामा आफूविरुद्ध राखिएको अविश्वासको प्रस्तावमाथि गरिएको मतदानमा बच्न सफल भएका थिए । त्यसपछि उनले एउटा सिनेट मत जिते पनि सिनेटमा स्पष्ट बहुमत खडा गर्न सकेका थिएनन् । पूर्वप्रधानमन्त्री म्यात्तेओ रेन्जीले कोन्टेसमक्ष केही शर्त राखेर आफ्नो सानो लिबरल इटालिया भिभा पार्टीलाई गठबन्धन सरकारबाट बाहिर ल्याएपछि अविश्वासको प्रस्ताव राख्ने स्थिति सिर्जना भएको थियो । यद्यपि, रेन्जीले यदि कोन्टेले आफ्नो केही मागको सुनवाइ गरेको खण्डमा सरकारमा फर्कने वचन दिएका थिए ।

रेन्जीले कोभिड–१९ समस्या समाधानका लागि राहतस्वरूप युरोपेली संघ (ईयू)बाट प्राप्त हुने भनिएको ७ सय ५० युरोमध्ये २ सय ९ अर्ब युरो खर्च गर्ने कोन्टेको योजनाको विरोध गरेका थिए । रेन्जीले ईयूको कोषलाई डिजिटल र हरित प्रविधिहरू जस्ता महत्वपूर्ण क्षेत्रमा लगानी गर्नुपर्ने अडान लिएका थिए । उनले रकम खर्च गर्ने क्षेत्र निर्णय गर्ने विवेक र अधिकार विधायकहरूलाई दिइन नहुने बरू प्रविधि विशेषज्ञहरूलाई दिइनुपर्ने बताएका थिए । तर, सरकार विरोधी फाइभ स्टार मुभमेन्ट (एम ५ एस) ले भने कोन्टेको पक्षमा रहेने निर्णय गरेको छ ।

यसै सप्ताहान्तमा हुने न्यायिक सुधारमाथिको मतदानभन्दा पहिले उनको राजीनामा आउने अनुमान गरिएको छ । यस मतदानमा उनले पराजय भोग्नुपर्ने चेतावनी उनकै गठबन्धनका विधायकहरूले दिएका थिए । यो दोश्रो विश्वयुद्धपछिको इटालीको ६६औं सरकार हो ।

प्रतिक्रिया दिनुहोस्