मसोपोटामियाको सभ्यता बुझौँ



इसापूर्वभन्दा लगभग ५००० वर्षअगाडि टिग्रिस र युफ्रेटस दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो । यही सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता भन्ने गरिन्छ । यो नाम प्राचीन युनानी वा ग्रीकहरूले राखेका थिए, वास्तवमा युनानी भाषामा मेसोपोटामियाको अर्थ दुई नदीको माझ भन्ने हुन्छ ।

मेसोपोटामियाको सभ्यता पूर्वी सिरियाको केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएको थियो । उब्जाउ भूमि भएको हुनाले यसलाई फर्टाइल त्रेसेन्ट अर्थात् अर्धचन्द्राकार उर्वर भूमि भनियो । सामान्यतया मेसोपोटामियाको सभ्यतालाई कृषिकाल, पूर्वसुमेरियनकाल, सुमेरियनकाल, बेबिलोनियन र असिरियन गरेर पाँच भागमा बाँडिएको छ । सभ्यताको शुरूको अवस्थालाई कृषिकाल भनिन्छ । पूर्वसुमेरियनकालमा नै श्रमको विभाजन गर्ने प्रचलन चलेको थियो ।

सुमेरियनहरू इन्डोयुरोपियन जातिका मानिस थिए । यिनीहरूले युफ्रेटस नदीको किनारमा जंगल झाडी सफा गरेर जौ र गहुँको खेती शुरू गरेका थिए । यिनीहरू गाई, गोरु र गधाजस्ता जनावर पाल्ने गर्दथे । यिनीहरू कुशल शिल्पकार तथा चित्रकार थिए । यिनीहरूले नै क्युनिफर्म नामको लिपि विकास गरेको थियो । हाम्रा घडीमा प्रयोग गरिने समयको विभाजन घडीको यिनीहरूले नै गरेका थिए । जिगुरात पनि यही कालखण्डमा बनाइएको थियो ।

मेसोपोटामियाको सभ्यताको विकासमा त्यहाँको भौगोलिक अवस्थाले निकै ठूलो प्रभाव पारेको थियो । मेसोपोटामियाको सभ्यता पूर्वी सिरियाको केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएका थियो । युफ्रेटस र टिग्रिस नदीका बीचमा अवस्थित मेसोपोटामिया प्राचीन शहरी सभ्यताको केन्द्र थियो ।
मेसोपोटामियाको उर्वर भूमिबाट लोभिएर गरिब छिमेकी मुलुकहरू यसतर्फ आकर्षित हुन्थे । त्यसै हुनाले यसका इतिहासमा सधैं घुसपैठ र युद्धका कुरा लेखिन्थे । यहाँ पानी थोरै परे पनि नदीबाट बनाइएका नहरका माध्यमबाट सिँचाइ गरेर प्रशस्त उत्पादन गरिन्थ्यो । यहाँका नदीहरूमा विभिन्न थरीका माछाहरू पाइन्थ्यो ।

मेसोपोटामिया इरान, सिरिया, टर्की, इराक, साउदी अरबसम्म फैलिएको भूभाग पर्दथ्यो । यस सभ्यतामा नवपाषाण युगको अन्त्यपछि करिब ४५ सयदेखि ४ हजार इसापूर्वमा विश्वमै व्यवस्थित पहिलो नगर तथा बृहत् धार्मिक स्थलको निर्माण गरिएको थियो । यस्ता धार्मिक स्थललाई ‘जिगुरात’ भनिन्थ्यो । यस्ता जिगुरातमा उनीहरूले धार्मिक अनुष्ठान तथा आराधना गर्ने गर्दथे ।

मेसोपोटामियाका प्रत्येक नगर राज्यका आफ्नै देवीदेवता हुन्थे भने जिगुरात धर्माधिकारीको नियन्त्रणामा रहन्थ्यो । यीमध्ये गिलगामेसको नाम चर्चित छ । उनी उरुक राज्यका पुरोहित नरेश थिए । यिनै गिलगामेसले लेखेको महाकाव्य ‘इपिक अफ गिलगामेस’ अहिलेसम्म पाइएको विश्वकै पहिलो महाकाव्य हो । यसमा दैविक र मानव शक्तिले भरिपूर्ण भएका गिलगामेसको चर्चा गरिएको छ ।

यसै गरी इजिप्सियनले पनि चित्रात्मक लेखाइ पद्धतिको विकास गरेका थिए, जसलाई ‘हाइरोग्लिफ’ अर्थात् ‘पवित्र कुदाइ’ भनेर चिनिन्थ्यो । विश्वमा विकास भएका सभ्यता मेसोपोटामिया, इजिप्ट, ग्रिक, सिन्धुघाँटी, रोमन आदिमा इतिहास, धर्म, साहित्य, शासकका वीरगाथा, सामाजिक जीवन पद्धति तथा आर्थिक विषयलाई अभिलेखीकरण गर्न अक्षरको विकास भयो । फरक–फरक स्थानअनुसार अक्षरको विकास भयो । जसलाई पछि लिपि भनेर चिनिन थालियो । लिपिको विकाससँगै ती सभ्यताका कला, साहित्य, संस्कृति, धर्म तथा विविध सामाजिक जीवनलाई अभिलेखीकरण गर्ने प्रचलन चल्यो ।

सुमेरियनहरूले एउटा अत्यन्तनै संगठित राज्य स्थापना गरेका थिए । प्राचीन समयमा राज्यहरू विभिन्न नगर राज्यमा बाँडिएकाले नगर राज्य भनिन्थ्यो । यी नगर राज्यहरू स्वायत्ततामा स्वतन्त्र थिए । आफ्ना सामथ्र्यय र शक्ति बढाउन नगर राज्यहरू आपसमा युद्ध गरिरहन्थे । नगर शासनको प्रमुखलाई पटेसी भनिन्थ्यो । मुख्य पुरोहित र सेनापतिको काम पटेसीले नै गर्दथे । यिनीहरूको शासन धर्मद्वारा हुने गर्दथे । सुमेरियन कालमा राज्य सत्ताको नाममा अनेक लडाइँ तथा युद्धहरू हुने गर्दथे । यस समय युद्धमा रथकोे प्रयोग हुने गर्दथ्यो । हतियारमा धनुष वाण, बर्छा, तरबार र भालाको प्रयोग हुने गर्दथ्यो ।

सुमेरियनहरूको प्रमुख अर्थ व्यवस्थाका लागि कृषिलाई नै लिने गरिन्थ्यो । इसाभन्दा करिब ४००० वर्षपहिले नै सुमेरियनहरूले सिँचाइका लागि नहरको व्यवस्था गरेका थिए । यहाँका जनताहरूको मुख्य जीविका नै कृषिमा निर्भर रहेको थियो । यहाँ जौ, गहुँ र खजुरको मुख्य खेती हुने गर्दथ्यो भने गाई, गोरू, भेडा, बाख्रा र सुँगुर मुख्य पशुपालन रहेको थियो । साथै धातुको सामग्री बनाउने र यातायातका साधनहरूको विकास पनि यसै समय कालमा भएको थियो ।

सुमेरियनहरूको समाज तीन वर्गमा विभाजित रहेको थियो, जसमा उच्च, मध्यम र निम्न वर्गहरू थिए । उच्च वर्गमा राजवंश, दरबारिया, राज्यका पदाधिकारी, पुरोहित र सामन्तहरू पर्दथे । साथै व्यापारी र कृषकहरू मध्यम वर्गमा पर्दथे भने समाजको निम्न स्तरमा दासहरू पर्दथे । प्रचीन सुमेरियन सभ्यतामा अत्यधिकरूपमा दासप्रथा रहेको थियो ।

सुमेर निवासीहरू धर्ममा ठूलो विश्वास राख्दथे । उनीहरूको विचार र भावना धर्मद्वारा प्रेरित हुन्थ्यो । यिनीहरू बहुदेववादमा विश्वास राख्दथे । हरेक शहरको स्वतन्त्र र अलग्गै देवताहरू हुन्थे । देवी देवताहरूका मन्दिरमा पुजारी र पुरोहितहरूको प्रधानता थियो । तन्त्रमन्त्र, जादु, टुनामुना र भविष्यवाणी गरे तापनि सुमेरवासीहरू परलोक, स्वर्ग, नर्कका विषयमा भने जानकार थिएनन् ।

सुमेरवासीहरूमा वर्ष, महिना, दिन तथा घण्टाको बारेमा ज्ञान रहेको थियो । गणितीय सामान्य ज्ञानबारे उनीहरू जानकार रहेका थिए । सुमेरियन सभ्यतामा चिकित्साशास्त्रको पनि सामान्य विकास भैसकेको थियो । साथै उनीहरू रोग पत्ता लगाउन जादु, टुना, तन्त्रमन्त्रमा पनि विश्वास राख्दथे ।
सुमेरियनहरू मूर्ति निर्माण तथा भवन निर्माण गर्न निकै सिपालु रहेका थिए ।

उनीहरू योजनाबद्ध रूपबाट दुईतले घरहरू निर्माण गर्थे । मूल्यवान् तथा चम्किलो पत्थरहरूबाट आकर्षित मूर्तिहरू बनाउँथे । सुमेरमा शिक्षा, कला, साहित्य र लेखनकलाको पर्याप्त विकास भइसकेको थियो । माटाको सामान र पत्थरहरूमा बनेका चित्रहरू नै त्यति बेलाको एक प्रमाण हो ।\

– समता ढकाल, कलंकी ।

प्रतिक्रिया दिनुहोस्