अमेरिका नेपालको लोकतान्त्रिक विकास र स्वतन्त्र मिडियाका पक्षमा



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले नेपालको लोकतान्त्रिक विकास र स्वतन्त्र मिडियालाई सघाउन आफ्नो मुलुक सदा तयार रहेको बताउनुभएको छ । ‘कोरोना भाइरसका कारण सारा विश्व प्रभावित छ । अमेरिका र नेपालले मात्र होइन, विश्वले नै यसको असर भोगिरहेको छ । यसले सिर्जना गरेको असहज परिस्थितिका कारण सञ्चारमाध्यममा भ्रामक समाचारको सम्प्रेषण बढेको छ ।

यस्तो बेला लोकतन्त्र र मिडिया प्रभावित नहोस् भन्नेमा हामी चनाखो हुनुपर्छ’, राजदूत बेरीले मिडिया एक्सन नेपालद्वारा तयार पारिएको नेपाली मिडियामा भ्रामक समाचार विषयक अध्ययन प्रतिवेदन पुस्तिका विमोचन गर्दै भन्नुभयो– ‘लोकतान्त्रिक विकास र स्वतन्त्र मिडियाको प्रवर्द्धनका लागि अमेरिका सहकार्य गर्न तयार छ ।’

उक्त कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले मिडिया ‘वाचडग’ हो तर ऊ आफै पनि अरुको निगरानीमा रहेको हुन्छ भन्नुभयो । ‘हामी समाजका महत्वपूर्ण गतिविधि निगरानी गरिरहेका हुन्छौं, के सही भयो र के बेठीक भयो भनेर टिप्पणी गर्छौं, तर हामीलाई अनुगमन गर्ने कोही छैन भनेर सोच्नुहुन्न।’ –उहाँको भनाइ थियो । उहाँले विश्वसनीयता नै समाचारको आधारभूत अनिवार्य तत्व रहेको जनाउँदै छिटो सेवा दिने नाममा असत्य र भ्रामक सूचना बाहिर आउन नहुने धारणा राख्नुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भ्रामक र अविश्वसनीय समाचारका कारण मिडिया जगतकाे उद्देश्य पूरा नभइरहेको जानकारी गराउँदै भन्नुभयो– ‘नेपाली मिडियाले धेरै राम्रो काम गरेका छन्, तर यस्ता अध्ययनले उनीहरुलाई अझ बढी राम्रा काम गर्न अभिप्रेरित गर्ने हाम्रो विश्वास छ ।’नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता तथा सूचना अधिकारी अन्ना रिची–एलेनले अध्ययनका लागि सहयोग गर्नुपर्ने कारण बताउँदै स्वतन्त्र मिडियाको विकासका लागि आगामी दिनमा पनि अध्ययन–अनुसन्धानमा सहकार्य गर्ने जानकारी दिनुभयो । प्रियङ्का झाले सञ्चालन गर्नुभएको विमोचन सत्रपछि कृति भुजुले समूह छलफल सञ्चालन गर्नुभएको थियो ।

यस सत्रमा वरिष्ठ पत्रकार नम्रता शर्मा, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, द हिमालयन टाइम्सका सम्पादक राजन पोखरेल, अनलाइन खबरका सम्पादक कमलदेव भट्टराई, अनुसन्धानकर्ता जेबी विश्वकर्माले बोल्नुभएको थियो । कान्तिपुर, नेपाल समाचारपत्रलगायत १० अखबार र अनलाइन खबरलगायत २० न्युज पोर्टलले तीन महिनामा प्रकाशित गरेका करिब ५० हजार समाचार अध्ययन गरेर प्रकाशित गरिएको यस प्रतिवेदनले समाचार स्रोतप्रति नेपाली मिडिया कमजोर रहेको निष्कर्ष निकालेको छ ।

अमेरिकी राजदूतावासकी सूचना विज्ञ प्रेरना मरासिनीले समापन गर्नुभएको कार्यक्रममा वक्ताहरुले भ्रमपूर्ण समाचार सम्प्रेषण हुनुमा मिडिया क्षेत्रमा दक्ष जनशक्तिको अभाव, लगानीकर्तामा छिटो मुनाफा आर्जन गर्ने प्रवृत्ति, समाचारका लागि प्रमुख स्रोतका रुपमा रहेको राजनीतिक क्षेत्र प्रदूषित रहेको, भ्रष्टाचारको माहोलभित्र रहेर व्यावसायिक पत्रकारिता गर्न कठिन भएको र पछिल्लो समय कोरोना भाइरसको महामारीले मिडियाभित्र पनि सम्झौतापरस्त वातावरण बनाएको जस्ता कारणहरु देखाएका थिए ।

अध्ययन प्रतिवेदनमा निष्कर्ष तथा सिफारिस भन्दै प्रस्ट स्रोत खुलाएर समाचार लेख्न र समाचार सार्वजनिक गर्नुअघि विश्वसनीयताका दृष्टिले सामग्री कति योग्य छ भनेर दोहो-याएर हेर्न अनुरोध गरिएको छ । मिडियाकर्मीमा भ्रामक, अस्पष्ट र अनेकार्थी शीर्षकसहितका सामग्री प्रस्तुत गर्ने प्रवृत्ति रहेको, नाम उल्लेख गर्न नचाहने स्रोतको हबाला दिँदै महत्वपूर्ण सामग्री प्रकाशनमा ल्याउने गरिएको, अन्तर्राष्ट्रिय समाचारमा ‘एजेन्सी’ मात्र भन्ने गरिएको तर कुन एजेन्सी भनेर नतोकिएको र करिब ५० हजार समाचारमा चार प्रतिशत अर्थात् २ हजार समाचार भ्रमपूर्ण रहेको खुलासा गरिएको छ ।
यस अध्ययनका लागि मिडिया एक्सन नेपाललाई अमेरिकी राजदूतावासको सहयोग प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्