कर्णालीमा कुकुरलाई नि: शुल्क बन्ध्याकरण



दिपेन्द्र शर्मा, सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी नि:शुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा नि:शुल्क बन्ध्याकरण रोग अन्वेषन तथा रेविजविरुद्ध खोप कार्यक्रम संचालन गरिएको  हो ।

कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर संचालन गरिएको हो ।

सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप पनिलगाइने भएको छ ।

सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको पशुपन्छि रोग अन्वेषन प्रयोगशाला सुर्खेतका प्रमुख डाक्टर कृष्णराज पाण्डेले वताउनुभयो । कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गर्न लागिएको प्रमुख डाक्टर पाण्डेको भनाई छ । कर्णाली प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवासहित शिविर संचालन गरिएको उहाँले वताउनुभयो । उहाँका अनुसार कर्णालीमा पहिलो पटक कुकुरलाई बन्ध्याकरण गर्न लागीएको हो ।

पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक कुकुरहरु लाईखोप संचालनगरिएको छ । शिविरका लागी ८ जना पशु चिकित्सक प्राविधिक जनशक्तिको ब्यवस्थापन गरिएका पशुपंन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिनुभयो । यो अवधीमा तीन सय बढी कुकुरहरुलाई सेवा प्रवाह गरिने निर्देशक गिरीले वताउनुभयो । सोमवार तथा मंगलवार विहानसम्म करिव १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको उहाले जानकारी दिनुभयो । बजारमा रहेका सामुदायिक कुकुरहरुलाई भेटनरी एम्बुलेन्स मार्फत पशुपंन्छि विकास निर्देशनालयमा ल्याएर नि:शुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको गिरीले वताउनुभयो । घरपालुका कुकुर सम्बन्धीत घरधनी आफैले लिएर शिविर स्थलमा आएपनि नि:शुल्क बन्ध्याकरण गरिने उहाँको भनाई छ ।

भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाण्डौ, पशुपन्छि रोग अन्वेषन प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको सयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । नि:शुल्क बन्ध्याकरण शिविर सोमवार देखि वुधवार सम्म संचालन हुने आयोजक कार्यालय पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्