जीडीपीकै हाराहारीमा शेयर बजारको मूल्य पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

पुँजीबजारको आकार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबर पुग्न थालेको छ । हाल नेपालको जीडीपी ३५ खर्ब रुपियाँको हाराहारीमा रहेको स्थितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको समग्र बजार मूल्य ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार रुपियाँ पुगेको छ । शेयर बजारमा भएको निरन्तरको वृद्धिसँगै बजार मूल्य पनि वृद्धि भएको हो ।

कोरोना महामारी एवम् राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र खुम्चिरहेका बेला शेयर बजारले भने दैनिक फड्को मार्न थालेको छ । जसकारण पुँजीबजारको आकार र कुल गार्हस्थ्य उत्पादनको आकार सामान हुने अवस्थामा पुगेको विश्लेषकहरूको भनाइ छ । विश्लेषकहरूका अनुसार पुँजीबजार कुल गार्हस्थ्य उत्पादनको आकार वरिपरी हुनुलाई सकारात्मकरूपमा मान्न सकिन्छ ।

साताको दोस्रो दिन नेप्से परिसूचक १६ दशमलव शून्य ४ अंकले बढेर २४४० दशमलव ९७ बिन्दुमा पुगेको छ । नेप्से दोहोरो अंकले बढे पनि सोमबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाखभन्दा बढी कित्ता शेयर ८ अर्ब ९० करोड ३५ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ ।

जसमध्ये ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ बाँकी ५ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन कारोबार भएका १२ समूहमध्ये सात समूहको परिसूचक घटेको छ भने पाँच समूहको परिसूचकमात्रै बढेको छ । बैंकिङ, व्यापार, निर्जीवन बीमा, अन्य, सामूहिक लगानी कोष समूह बढ्दा होटल, विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन र जीवन बीमा समूह घटेका छन् ।

यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार उच्च भएको छ । सो कम्पनीको मात्रै ६० करोड ३७ लाख रुपियाँको कारोबार हुँदा नबिल बैंकको ३३ करोड १७ लाख, एनसीसी बैंकको ३१ करोड ३५ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

कारोबारका आधारमा सोमबार नागरिक लगानी कोषको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, नेसनल हाइड्रोपावर, हिमालयन पावर पार्टनरको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। तर, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सिन्धु विकास बैंक, प्रागेसिभ फाइनान्स, गरिमा विकास बैंक, नेपाल फाइनान्स, सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सबैको लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले अन्यले भन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्