चिनियाँ र भारतीय फौजबीच सिक्किममा तनाव



नयाँदिल्ली, (एजेन्सी)

चिनियाँ र भारतीय फौजबीच पुनः विवादास्पद सीमा क्षेत्रमा भिडन्त भएको भारतीय सञ्चारमाध्यमले सोमबार जनाएको छ । तर, गत बुधबार उत्तरी सिक्किममा भएको सो झडपमा कोही पनि घाइते नभएको बताइएको छ । भारतीय सेनाले सामान्य झडप भएको तर समस्या समाधान भइसकेको बताएको छ ।

विश्वकै सबैभन्दा लामो र विवादास्पद मानिने भारत र चीनको सीमा क्षेत्रमा बारम्बार तनाव चर्किने गरेको छ । दुवै पक्षले भू–स्वामित्वलाई लिएर निहुँ खोज्ने गरेका छन् । गत वर्षको जुन महिनामा लद्दाखको सिमानामा भएको चिनियाँ फौजसँगको भिडन्तमा कम्तिमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो ।

पछिल्लो समयमा उत्तरी सिक्कमको नाकु लामा समस्या देखिएको हो । सिक्किम भुटान र नेपालबीच रहेको भारतीय राज्य हो । यो लद्दाख क्षेत्रदेखि करिब २ हजार ५ सय किमि पूर्वमा पर्दछ । टाइमस अफ इन्डियाले तनावको क्रममा दुवैतिरबाट गोली नचलेको पुष्टि गरेको छ । यसैगरी, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले घटना सम्बन्धमा विस्तृत विवरण सार्वजनिक नगरे पनि चिनियाँ फौज शान्ति कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्