कपाल फुल्ने समस्या के हो ?



हिजोआज बालबालिकादेखि युवायुवती र वयष्कसम्मलाई सताउने रोग थाइराइडका कारणले पनि कपाल फुल्ने समस्या आउन सक्छ । थाइराइड रोगमा थायराक्सिन नामक हर्मोनको घटबढका कारण शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुन जान्छन् । कम उमेरमै कपाल फुल्यो भने कस्तो बूढोजस्तै देखिएको भनेर जिस्क्याउने पनि छन् । यसले कपाल फुल्दा निराशापनसमेत बढ्ने गरेको छ । कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन् ।

सानै उमेरमा कपाल फुल्न थालेको छ भने त्यसको पछाडि विभिन्न कारण हुन सक्छन् । कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारण हुन्छन् । सामान्यतया उमेर जति–जति बढ्दै जान्छ, त्यति नै कपालको रङमा ह्रास आउँदै जान्छ, अर्थात् कपालको रङ खैरो वा सेतो हुँदै जान्छ । यो प्राकृतिकरूपमा हुने स्वाभाविक प्रक्रिया हो ।

तर कम उमेरमा कपालको रङ अस्वाभाविक ढंगले परिवर्तन भएको छ वा हुन थालेको छ भने त्यसका पछाडि केही कारण वा समस्या छ भन्ने बुझ्नुपर्छ । तर समस्या छ भन्दैमा डराइहाल्नु भने पर्दैन । समस्याको पहिचान गरी त्यसको उपचारमा लाग्नुपर्छ ।

सामान्यतया १० देखि ३० प्रतिशत कपालको रङ प्रत्येक १० वर्षमा कम हुँदै जान्छ । कपालको रङमा ह्रास आउँदै जाँदा सेतो हुने हो । एसियनहरूमा ३० वर्ष उमेर कटेपछि सेतो कपाल देखिन थाल्छ । यो प्रायजसो महिला–पुरुष दुवैमा एउटै उमेरमा देखिन्छ । विभिन्न अनुसन्धानले ‘रुल अफ फिप्टी’ लाई बाहिर ल्याएको छ ।

यसअनुसार संसारमा ५० प्रतिशत जनसंख्यामा ५० वर्षको उमेरमा ५० प्रतिशत कपाल फुलिसकेको हुन्छ । पुरुषमा सबैभन्दा पहिला देखिने सेतो कपाल कन्चटमा र टाउकोको दायाँबायाँ हो भने टाउकोको पछाडिपट्टि सबैभन्दा पछि सेतो हुन्छ । त्यस्तै, महिलामा टाउकोको दायाँबायाँ पहिला सेतो देखिन्छ ।

आमाबुबाको कपाल चाँडै फुलेको छ भने उनीहरूबाट जन्मेका सन्तानमा कपाल फुल्ने समस्या हुन्छ । मद्यपान तथा धूमपानको अधिक सेवन गर्नेमा पनि चाँडै कपाल फुल्ने समस्या आउँछ । त्यसै गरी, कुनै पनि किसिमको दीर्घरोग जस्तै– मुटु, फोक्सो, मिर्गौला, पेटको समस्या आदि हुनेमा पनि छिटो कपाल फुल्न सक्छ । त्यस्तै, कपाल फुल्ने अर्को कारण हो, मोटोपन । अस्वाभाविकरूपमा मोटोपन भएमा पनि कपाल फुल्ने समस्या देखा पर्न सक्छ ।

सेतो कपालको उपचार हुँदैन तर कपाल सेतो हुनुको पछाडिको कारण पत्ता लगाएर त्यसको उपचार गर्ने हो भने यो समस्या धेरै हदसम्म हटेर जान्छ । कपाललाई कालो बनाउन विभिन्न रसायनयुक्त हेयर कलर प्रयोग गर्नु भनेको थप समस्या निम्त्याउनु हो । यसले क्षणिकरूपमा समस्याको समाधान गरेको त देखिन्छ तर त्यसले दीर्घकालीन असर गरिरहेको हुन्छ । बरु, पोषणयुक्त आहार र घरेलु उपाय अपनाउनु बेस हुन्छ ।

–गंगा तिवारी, जनकपुरधाम ।

प्रतिक्रिया दिनुहोस्