निर्वाचन आयोगको निर्णयप्रति प्रधानमन्त्रीको टिप्पणी : ‘माधव नेपालको अध्यक्ष बन्ने सपना खत्तम’



नरेन्द्र केसी, दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै नेता माधवकुमार नेपालको अध्यक्ष बन्ने सपना अधुरै रहेको टिप्पणी गर्नुभएको छ । आयोगले नेकपाको विभाजनलाई मान्यता नदिने निर्णय गरेको एक दिनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो ।

ओली पक्षीय नेकपा दाङले सोमबार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘केही मानिसहरु पार्टीबाहिर नगएर चौतारीमा बसेर म अध्यक्ष भएँ भन्दै बसेका छन् । त्यो पनि हिजो निर्वाचन आयोगले कोही अध्यक्ष सदस्य थपिएका छैनौं भनेर कोही कोहीको सडकबाटै अध्यक्ष बन्ने सपना खत्तम पारिदियो ।’

तत्कालीन एमालेको महाधिवेशनमा नेता नेपाल अध्यक्ष पदमा पराजित भएको स्मरण गराउँदै ओलीले भन्नुभयो– ‘अध्यक्ष हारेपछि मैलाई अध्यक्ष चाहियो भन्ने मेरो तरिका होइन, मेरो तरिका जनताको बीचमा जाने हो । त्यसैले म चुनाव घोषणा गरेर जनताको बीचमा आएको छु ।’ आफूहरु नै आधिकारिक नेकपा भएकाले निर्वाचन आयोगमा आधिकारिकता दाबी नगरेको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो– ‘हामीले आधिकारिक भनेर दाबी गरेका छैनौं, हामी आधिकारिक छौं अनि पटकपटक किन दाबी गर्ने?’

‘दुई–चार जना मानिसहरु रेस्टुराँ र ब्यांकटमा बसेर बैठक गरे रे, केपी ओलीलाई पार्टीबाट हटाए रे । उनीहरु त केपी ओली यो धर्तीमा नरहे हुन्थ्यो भन्छन्, अध्यक्षबाट हटाएको हल्ला गर्नु के ठूलो कुरा भयो र?’, उहाँले भन्नुभयो– ‘के त्यो सम्भव छ? उनीहरुले के भन्छन्, त्यसको अर्थ छैन ।’ पार्टी एकजुट रहेको दाबी गर्दै उहाँले कोही पनि भ्रममा नपर्ने बताउनुभयो । आफूहरुले कसैलाई पनि पार्टीबाट ननिकालेकाले गल्ती महसुस गरेर फर्के राख्न तयार रहेको बताउनुभयो ।

केही समययता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन कडा बनाउनुपर्ने र मांसहारी आन्दोलन आवश्यक रहेको बताइरहेको सन्दर्भमा अध्यक्ष ओलीले अब फेरि हिंसा सम्भव नभएको बताउनुभयो । प्रचण्डलाई ‘सिङ भाँचिएका तिल्के गोरु’ भन्दै अब सिङ भाँचिएका गोरुले धाक लगाउनुको अर्थ नहुने बताउनुभयो ।

संविधानसम्मत ढंगले संसद् भंग गरिएको दाबी गर्दै ओलीले अब संसद्लाई झाँकीजस्तो रंगीबिरंगी बनाउन नहुने बताउनुभयो । देशमा अस्थिरता मच्चाउन चाहनेहरुले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै उहाँले आफूलाई काम गर्न नदिएकाले त्यस्ता तत्वलाई असफल पार्न नै चुनाव घोषणा गरेको दाबी गर्नुभयो ।

‘म असफल भए केही हुँदैन तर देश असफल हुँदैन, जसरी पनि चुनाव हुन्छ र हुनुपर्छ।’ –उहाँले भन्नुभयो । वैशाखमै निर्वाचन गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले प्रहरी प्रशासनको सहयोगबिनै चुनाव जित्ने पनि बताउनुभयो ।

‘माघ १८ सम्म चार लाखलाई खोप’

अर्को प्रसंगमा उहाँले माघ १८ गतेसम्म ४ लाख ३० हजारलाई कोरोनाविरुद्धको खोप लगाउने बताउनुभयो । ‘कोरोना भाइरस नियन्त्रणतर्फ गइरहेको छ । पर्सिबाट अग्रभागमा खटिएकाहरुलाई खोप लगाउँदै छौं, १८ गतेभित्र ४ लाख ३० हजारलाई खोप लगाइसक्नेछौं, यो हाम्रो नयाँ पाइला हुनेछ।’ –उहाँले भन्नुभयो ।

त्यसअघि प्रम ओलीले दाङको देउखुरीमा निर्मित नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्नुभएको थियो । सो पुलको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ पुस २२ गते शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्