सुख्खा बन्दरगाहमा सिण्डिकेट



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् । ढुवानी व्यवसायीले भाडा बढाएर आलोपालो अपनाएपछि कोरिडोरका उद्योगीले यसको विरोध गरेका छन् ।

व्यवसायीहरूले विगतको तुलनामा भाडा बढाएर आलोपालो प्रणाली थालेकाले ढुवानीको लागत बढेको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताउनुभयो । व्यवसायीले सुक्खा बन्दरगाहदेखि परवानीपुर, जितपुर र सिमराको पुरानो भाडादरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि गरेका छन् ।

यसअघि २० फिटको कन्टेनरमा २२ मेट्रिकटन (मेट) मालसामान परवानीपुरसम्म पु-याएको भाडा ८ हजार रुपैयाँ थियो । जितपुरसम्मको १० हजार र सिमराको १२ हजार रुपैयाँ तोकिएको थियो । यो भाडा दरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि भएको छ । एक दर्जन व्यवसायीले नयाँ भाडादर तोकेर सूचना निकालेका छन् ।

भाडा बढाएर आलोपालो लगाएपछि माघ ५ गतेदेखि नयाँ भाडादरमा कन्टेनर ढुवानी भइरहेको छ । सुक्खा बन्दरगाह भन्सारबाट कन्टेनर जाँचपास भएको भोलिपल्ट साँझ ५ बजेसम्म ट्रक खाली नभएमा प्रतिदिन २ हजार रुपैयाँका दरले डिटेन्सन लाग्ने पनि व्यवसायीको सूचनामा उल्लेख छ । समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ल्याइएका कन्टेनर ढुवानी व्यवसायीले कोरिडोरका उद्योगसम्म पु-याउँछन् ।

भारतबाट रेलमार्पmत आएका औद्योगिक कच्चा पदार्थ पनि ट्रकले कोरिडोरका उद्योगसम्म ओसार्छन् । यता ढुवानी व्यवसायी भने अस्वस्थ्य प्रतिस्पर्धाका कारण व्यवसाय निरन्तर घाटामा गएकाले त्यसलाई व्यवस्थित गर्न खोजिएको बताउँदै आएका छन् । अव्यवस्थित प्रतिस्पर्धाले व्यवसाय धराशयी हुने अवस्थामा पुगेकाले व्यवसयीहरू आलोपालोको सहमतिमा पुगेको ढुवानी व्यवसायी श्याम सिंह प्रसाद पटेलले बताउनुभयो ।

विगत १ वर्षदेखि ४ हजारदेखि ५ हजार रुपैयाँसम्ममा ढुवानी गर्दा उद्योगी मौन बसेको भन्दै अहिले बढेको भाडा अस्वाभाविक नभएको दाबी पटेलको छ । पुरानो भाडा दरमा २२ मेट सामानको मात्र भाडा तोकिएको र त्यसभन्दा बढीमा प्रतिमेट ४ सय रुपैयाँ लिने गरेको व्यवसायीले बताए । नयाँ भाडादरमा ३० मेटसम्म अतिरिक्त भाडा नलाग्ने भएकाले भाडा वृद्धि अस्वाभाविक नभएको पटेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्