सामाजिक सुरक्षा भत्ता अब बैंकबाटै



मुगु, (नेस)

सरकारले सामाजिक सुरक्षा भत्ताबापतको रकम सम्बन्धित व्यक्तिलाई बैंकमार्फत भुक्तानी दिने निर्णय गरेसँगै मुगुका स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकले बचत खाता खोल्ने काम थालेको छ । वडाध्यक्षको समन्वयमा बैंकका कर्मचारी र वडा कार्यालयका कर्मचारी गाउँपालिकाका वडास्तरमै गएर बैंकले सामाजिक सुरक्षा भत्ताका लागि बचत खाता खोल्ने काम शुरु गरेको सोरु वाणिज्य बैंकका प्रबन्धक जयबहादुर मल्लले बताए ।

विगतदेखि सामाजिक सुरक्षा भत्ताको अनियमितताको कुरा उठेपछि बैंकबाटै भुक्तानी गर्ने चाँजोपाँजो मिलाएपछि सामाजिक सुरक्षाको रकम नियमित हुने देखिएको छ। सामाजिक सुरक्षा कार्यक्रममा विगतदेखि भ्रष्टाचार भएको खबर आएपछि सरकारले बैंकमार्फत रकम भुक्तानी गर्ने व्यवस्था गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई लिएर वडास्तरमा पुगी बैंक खाता सञ्चालन गर्न लागिएको सोरू गाउँ पालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताए छन् । बैंकका कर्मचारी वडास्तरमा जाँदा भएको खर्चको व्यवस्थापन भने प्रत्येक वडाले गर्ने भएका छन् ।

लामो समयदेखि आफूहरुले पाउँदै आएको वृद्धभत्ता नपाएपछि जाडो समयमा न्यानो कपडा लगाउन नपाएको, पेटभर खानसमेत समस्या भएको र घर परिवारबाटै समेत अपहेलित हुनुपरेको सोरू गाउँपालिका–८का ७८ वर्षीय रामबहादुर बम बताउँछन् । ‘बेलाबेलामा वडाध्यक्ष र सचिवले दिने गरेको भत्ता नपाएको पनि एक वर्ष पुग्न लागिसक्यो। पहिलाको बाँकी रकम पाउनेमा आशा मरिसकेको छ । अहिले खाता खोल्नै झन्झट छ । फेरि कसरी बैंकमा गएर रकम झिक्ने ?

रकमको बारेमा कसरी जान्ने ? फेरि पनि समस्या आउने भयो।’ –छायानाथ रारा नगरपालिकाका ७२ वर्षीय मोतियु मल्ल बताउँछन् । बैंकबाटै रकम भुक्तानी हुने व्यवस्थाले सुगम र यातायातको पहुँच भएका क्षेत्रका नागरिकलाई रकम झिक्न र जम्मा गर्न सहज हुने भए पनि दुर्गम र यातायातको पहुँच नभएको क्षेत्रका लक्षित वर्गले भने सास्ती नै बेहोर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्