बिमलाको ह्याट्रिकमा आर्मीको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन आर्मी एफसीले जारी राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गर्दा विमला चौधरीले ह्याट्रिक गरेकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ७–० ले हराएको हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा शानदार जित हासिल ग-यो ।

आर्मीको लागि विमलाले गरेको ह्याट्रिक जारी लिगमा दोस्रो ह्याट्रिक पनि हो । यसअघि, एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरेकी हुन् । यस्तै, दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजना राईले समान १/१ गोल गरेपछि फराकिलो जित सम्भव भएको हो । विमलाले १४औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी हुन् ।

दीपाले २८औं मिनेटमा टिमको अग्रता दोब्बर पारिन् । रश्मीकुमारी घिसिङको क्रसमा सपना लामाले सप्लाई गरेको पासमा दिपाले गोल गरेकी हुन् । पहिलो हाफको अन्तिम मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाइन् । विमलाको प्रहारलाई गोलरक्षक सावित्री किसानले नियन्त्रणमा लिन नसकेपछि शर्मिलाले सहजै गोल गरिन् ।

योसँगै आर्मीले पहिलो हाफमा ३–० को अग्रता लियो । दोस्रो हाफमा भने वालिङको कमजोर डिफेन्समा विभागीय टिमले ४ गोल थप्यो । ६६औं मिनेटमा विदेशी खेलाडी कियोमेग्नी जोमो भेनेसा नोएलेले क्लियर गर्न नसकेको स्थितिमा विमलाले बल नियन्त्रणमा लिई भली प्रहार गर्दै गोलको दिशा दिइन् ।

यो उनको व्यक्तिगत दोस्रो गोल हो । उनले ७५औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन् । शर्मिलाको प्रहारमा विपक्षी गोलरक्षक सावित्री किसानले बचाइन, तर रिबाउन्ड भएको बलमा विमलाले गोल गरेकी हुन् ।

आर्मीले अन्तिम समयमा थप दुई गोल गर्न सफल भयो । खेल सकिन २ मिनेटको समय बाँकि हुँदा हेमाले गोल गरिन् । सो गोलसँगै आर्मीले वालिङविरुद्ध आधा दर्जन गोलको अग्रता लियो । त्यस्तै, भुजनाले इन्ज्युरी समयको दोेस्रो मिनेटमा गोल गरेपछि आर्मी ७–० गोलअन्तरले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्