लुम्बिनी र बागमतीको खेल रोमाञ्चक बराबरीमा



नेपाल समाचारपत्र, काठमाडौं ।

जारी चौथो पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल रोमाञ्चक बराबरीमा समाप्त भएको छ । आइतबार भएको उक्त खेलमा दुवैलाई जितकै नतिजा आवश्यक रहेकोमा स्कोर बराबरी भएपछि दुवै प्रदेश टिमले एक–एक अंक बाँडे ।

बागमतीले दिएको २ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी सबै विकेट गुमाएर ४८ ओभरमा २ सय २० स्कोरमा समेटियो । यो बराबरी नतिजाले बागमतीलाई हार्ने खेलमा पनि एक अंक दिलायो । यही एक अंकले टिम ४ खेलमा ७ अंक जोडेर प्रतियोगिताको सेमिफाइनलमा पुग्नसमेत सफल भयो ।

तर, लुम्बिनीले ४ खेलमा ५ अंक जोडेर अन्तिम चारमा पुग्न आज हुने खेलको नतिजा कुर्नुपर्ने भयो । आज समूह ‘बी’ को अन्तिम खेलमा नेपाल पुलिस क्लब र प्रदेश २ ले प्रतिस्पर्धा गर्दै छन् । यदि, यो खेलमा पुलिस जितेमा अन्तिम चारमा पुग्नेछ । यदि, प्रदेश २ जितेमा भने लुम्बिनी अन्तिम चारमा पुग्नेछ । पुलिसको ३ खेलबाट ४ अंक छ । यस समूहबाट सुदूरपश्चिम र प्रदेश २ प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

कप्तान कृष्ण कार्की क्रिजमा रहुन्जेल लुम्बिनी जितको निकट नै रहेको थियो । ४७ औं ओभरको दोस्रो बललाई चौका प्रहार गरेपछि कृष्ण अर्को बलमा आउट भए । यो नै टिमका लागि दुर्भाग्य हुन पुग्यो । ईशान पाण्डेले उनलाई रामनरेश गिरीद्वारा क्याच आउट गराएका थिए । कृष्णले ४१ रन बनाएर आउट हुँदा टिम जितबाट ५ रनले मात्रै टाढा थियो, जबकि टिमले अझै २१ बलको सामना गर्न बाँकि थियो ।

आठौं विकेटको रूपमा कृष्ण आउट भएपछि ४८औं ओभरको तेस्रो बलमा जितेन्द्र साहनीले नवौ विकेटको रूपमा लुम्बिनीले गुमाउनुप-यो । बागमतीको लागि विपिन आचार्यले जितेन्द्रलाई विकेटकिपर आकाश थापाद्वारा क्याच आउट गराए । यो विकेट लिनु बागमतीलाई खेलमा फर्काउन पर्याप्तसमेत भयो । अन्तिम विकेट सोही ओभरको अन्तिम बलमा रनआउटको रूपमा प्राप्त गरेको थियो ।

विजयी रन लिनको लागि दीपेन्द्र रावत र अनिल खरेल रन लिन दौडेका थिए । तर, दीपेन्द्र क्रिजमा पुग्नअघि नै आउट भएका थिए । उनलाई विकेटकिपर आकाश र नन्दन यादवको तालमेलमा पभेलियन फर्काएका थिए । दुवै ब्याटसम्यानले बाँकी दुई ओभर पर्खन नसक्दा जितेको खेल नै बराबरीमा सकाउन बाध्य भए । यसअघि, लुम्बिनीका लागि प्रकाश केसीले ४१ रन, सौरभ खनालले ३४ रन, देव खनालले २६ रन र सन्दीप सुनारले २५ रन जोडेका थिए ।

बागमतीको बलिङ पनि त्यति प्रभावशाली रहेन । टिमले २३ अतिरिक्त रन दिनु पनि लुम्बिनीलाई बराबरी खेल्न टेवा मिलेको थियो । बागमतीका बलरमा विपिन आचार्यले सर्वाधिक ४ विकेट लिए । त्यति विकेट लिन उनले ७ ओभरमा ३० रन खर्चेका थिए । अन्यमा गौतम केसीले २ तथा रामनरेश, तिलक भण्डारी र इशानले १/१ विकेट लिएका थिए ।

यसअघि, बागमतीले आदिल खान र इशान पाण्डेको अर्धशतकको सहयोगमा २ सय २० रनको योगफल तयार पारेको थियो । आदिलले आकाशसँग पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । आकाश ३९ रन बनाएर दीपेन्द्र रावतको बलमा आउट भएका थिए । सोही ओभरमा दीपेन्द्रले विभत्सु थापालाई शून्यमा बोल्ड गर्दै बागमतीलाई दोस्रो झट्का दिए ।

आदिलले स्कोर १ सय २८ सम्म पु-याएर पभेलियन फर्के । अनिल खरेलको बलमा आउट हुन अघि उनले ५ चौका र ३ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । २ रन जोड्दा पृथु बास्कोटा पनि आउट भए । उनलाई व्यक्तिगत २९ रनमा विक्रम भुषालले आउट गरेका थिए । यसपछि कप्तान ज्ञानेन्द्र मल्ल पनि धेरै बेर टिकेनन्, उनको योगदान १४ रन मात्रै थियो । दुई रन जोड्दा विपिन आचार्य पनि शून्यमै आउट भए ।

१ सय ५६ स्कोरका लागि ६ विकेट पतन भए पनि ईशानले रन बटुल्दै गए । अर्का इन्डका ब्याटसम्यान छिटो–छिटो आउट हुँदै गए । तर, ईशानले एक इन्ड बलियो बनाएर टिमलाई सम्मानजनक स्कोरमा पु-याए । ईशान टिमको स्कोर २ सय १८ मा पु-याएर नवौं विकेटको रूपमा आउट भएका थिए । उनले ५३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाएका थिए । लुम्बिनीका बलरमा दीपेन्द्र रावतले ३ तथा कृष्ण कार्की र सन्दीप सुनारले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्