नेप्सेमा दोहोरो रेकर्ड



काठमाडौं, (नेस)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ बिन्दुमा र ९ अर्ब ३७ करोड ६० लाख रुपियाँको कारोबार भई हालसम्मको उच्च रेकर्ड कायम गरेको हो ।

कुल २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । यसअघि गत मंसिर १४ गते सर्वाधिक ९ अर्ब २२ करोड ७३ लाख रुपियाँको शेयर कारोबारको रेकर्ड थियो।

नेप्सेले रेकर्ड कायम गरेसँगै एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य उच्च वृद्धि हुँदा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्त, गुराँस लघुवित्त, नागरिक लगानी कोषलगायतका कम्पनी रहेका छन् । यस दिन कारोबारमा आएका १२ समूहमध्ये व्यापार समूहको बाहेक अन्य समूहको परिसूचक बढेको छ।

कारोबार रकमका आधारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो कम्पनीको मात्रै ६६ करोड ८२ लाख रुपियाँको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्