तारा देवीको सम्झना



तारा देवी स्मृति फाउन्डेसनले स्वर किन्नरी तारा देवीको १५औं स्मृतिमा पाँचजनालाई सम्मान गरेको छ । राजधानीमा गत शुक्रबार आयोजित एक कार्यक्रमका बीच रचनाकार भैरवनाथ रिमाल कदम, संगीतकार गणेश परियार, गायिका ज्ञानु राणा, लामो समय गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसीलाई सम्मान गरिएको हो ।

गायिका ज्ञानु राणालाई कार्यक्रमका प्रमुख अतिथि विद्यासुन्दर शाक्य, फाउन्डेसनका सल्लाहकार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, अध्यक्ष दीपक केसी, उपाध्यक्ष भुवन चन्द थापा, कोषाध्यक्ष रमेश थापा, महासचिव शोमन सैँजु तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले संयुक्तरूपमा सम्मान गरेका हुन् । सम्मानित व्यक्तिहरूलाई जनही नगद २५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।

त्यस्तै, ४ घण्टा ५ मिनेट २० सेकेन्ड लगातार गीत गाएर वल्र्ड रेकर्ड कायम गरेका गायक तथा राज्यमन्त्री रामवीर मानन्धर र फाउन्डेसनका अध्यक्ष दीपक केसीलाई पनि दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । फाउन्डेसनले सम्मान कार्यक्रम तय गरिसकेपछि रचनाकार भैरवनाथ रिमाल र संगीतकार गणेश परियारको निधन भएकाले रिमालको सम्मानपत्र उनकी छोरी रेखा ढकाल र परियारको सम्मान–पत्र उनकी नातिनी मारिया सुनामलाई हस्तान्तरण गरियो । रिमालको गत पुस २५ र परियारको माघ ४ गते निधन भएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नलिना चित्रकारलाई पहिलोपटक स्टेजमा लगेको स्मरण गर्दै श्रष्टाहरूलाई महानगरपालिकाले संरक्षण गर्ने नीति लिएकाले सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्रष्टाहरूले रोयल्टी पाउनुपर्नेमा जोड दिँदै यसलाई व्यवस्थित बनाउन अग्रसर हुने बताए । संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले तारा देवीको संगीत यात्राको स्मरण गरे ।

कार्यक्रममा गायिका ज्ञानु राणा, प्राश्ना शाक्य, सरिता शाही, एन्जेला श्रेष्ठ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सुजाता बर्मा, गीता पाण्डे, लाबोनी चक्रवर्ती, राजिव परियार, सरस्वती मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्मा, मनिता राईलगायत आस्था कला केन्द्रका नवप्रतिभाहरूले तारा देवीका विभिन्न गीत गाएर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्