हिउँ नपर्दा आत्मनिर्भर बन्ने बाटो बन्द



यदुप्रसाद भट्ट, मनाङ ।

मंसिरदेखि हिउँ पर्न शुरु हुने हिमाली जिल्लाहरुमा यसपालि हिउँ देखिन छाडेको छ । समयमै हिउँ नपर्दा मौसममा परिवर्तन आएको छ । सधैं हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा अहिले मरुभूमिजस्तै बनेका छन् अनि कालापत्थरमा परिणत भएका छन् ।

वर्षको दुई महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने हिमालपारिको जिल्ला मनाङका किसान हिउँ नपर्दा चिन्तित छन् । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने अनि बालीनाली पनि फस्टाउने स्थानीय किसानहरु बताउँछन् । मंसिरबाट पर्नुपर्ने हिउँ माघ १५ सम्म आइपुग्दा पनि हिउँ देख्न मुस्किल परेको छ ।

कृषि तथा पर्यटनलाई नजिकैबाट नियालिरहनुभएका ताचैका स्थानीय युवा यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नहुँदा पर्यटन व्यवसायमा ठूलो असर गरेको तर्क गर्नुभयो । उहाँले कलकारखाना नभएको जिल्लामा हिउँ नै नहुँदा पर्यटकले के हेर्ने भन्दै प्रतिप्रश्न गर्नुभयो । हिमाली क्षेत्र नै खतरामा परेको उल्लेख गर्दै उहाँले समयमा हिउँ नपर्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔंले, चिराइतो आदिको उत्पादमा कमी आउने बताउनुभयो । यसले प्रत्यक्षरुपमा मानव जीवनमा असर गर्ने उहाँको तर्क थियो ।

मनाङका स्थानीयको आत्मनिर्भर हुने बाटो नै बन्द भएको भन्दै उहाँले भन्नुभयो– ‘समयमा हिउँ नपर्दा बालीनाली गहुँ, उवा उम्रिएको छैन, त्यसैले धेरै उत्पादन गरेर मुनाफा कमाउनेभन्दा पनि कसरी बाँचू भन्ने कुराले सताउन थालेको छ ।’
‘जलवायु परिवर्तनमा असर परेकाले यसपालि मंसिरपछि हिउँ नपरेको हो।’ –अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का मनाङ प्रमुख लेखनाथ गौतमले बताउनुभयो । उहाँले चिसो कम भएकाले तापक्रम वृद्धि भएको उल्लेख गर्दै हिउँ नपर्दा हिमपहिरो थुप्रिने सम्भावना कम हुँदै जाने बताउनुभयो ।

एक हप्ताअघि मात्र ७ हेक्टर क्षेत्रफलमा भएको आगलागी नियन्त्रणमा आएको स्मरण गर्दै उहाँले आगलागीको एक कारण हिउँ नपर्नु रहेको बताउनुभयो । हिउँ नपर्दा सुक्खाको मात्रा बढ्ने तथा बढी चिसो हुने हुँदा बालीनाली नसप्रने उहाँको तर्क थियो ।

गत साल मंसिर र पुसमा गरी दुईपटक हिउँ परेको नासों गाउँपालिका–८ ताचैका याद घलेले बताउनुभयो । उहाँले यसपालिका मंसिरमा पर्नु पर्ने हिउँ अहिलेसम्म नपर्दा नपर्दा प्राकृतिक स्रोतसाधनको कमी हुने तथा वनस्पतिलाई असर गर्ने बताउनुभयो । ताचैका संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएका घलेले यसपालि उवालगायतका बालीनाली पनि नउम्रेको बताउनुभयो ।

गत वर्ष यति बेला जताततै हरियाली भएको स्मरण गर्दै उहाँले यसपालि मलका रुपमा रहेको हिउँ नपर्दा किसानहरुलाई अब भोकमरी पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो ।

पिसाङका स्थानीय चौंरीपालक याङ्डु गुरुङले सधैंजसो मंसिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने भए पनि यसपटक भने अहिलेसम्म हिउँ देख्न नपाएको बताउनुभयो । त्यस्तै पिसाङकै स्थानीय युवा रामबहादुर गुरुङले जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थे तर यसपालि हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् ।’ पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ देख्न मुस्किल भएको उहाँको भनाइ थियो ।

मनाङका अन्नपूर्ण, गंगापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम बढेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा गत पुस २१ मा केही मात्रामा हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म भएको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२ कोतोका किसान विनोद लामाले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्