कञ्चनजङ्गा संरक्षण क्षेत्र परिषद्विरुद्ध तीन मुद्दा



दिलकुमार लिम्बू , फुङ्लिङ  । ताप्लेजुङ कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् पुनःगठन नियमावलीविपरीत समूह गठन गरेको जनाउँदै उच्च अदालत इलाममा तीन वटा मुद्दा दर्ता भएको छ । गत ज्येष्ठ २४ गते परिषद्को कार्यकाल समाप्त भएको थियो । कोरोनाका कारणले रोकिएको पुनःगठन प्रक्रिया गत पुस १७ गतेदेखि पुनःगठन शुरु भएको थियो । कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन नियमली र तदर्थ समितिले बनाएको आचारसंहिताविपरीत समूह गठन गरेको जनाउँदै बुद्धर्धपलिङ उपभोक्ता समूहका अध्यक्ष तेञ्जीङ शेर्पा, मादिबुङ उपभोक्ता समूहका पराजित अध्यक्ष लाक्पा शेर्पा र देउराली उपभोक्ता समूहका सदस्य लाक्पा छेतेन शेपाले उच्च अदालत इलाममा गतमाघ ६ गते एकैपटक तीन मुद्दा दर्ता गर्नुभएको हो ।

अन्य जिल्लामा बसोबास गर्दै आएको व्यक्ति समावेश गरेको जनाउँदै मादिबुङ उपभोक्ता समूहका पराजित उम्मेदवार लाक्पा शेर्पाले आफ्नो प्रतिबन्धित निर्वाचित केन्द्र फेम्बु, कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालय, तदर्थ समितिका संयोजक तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारी, कार्यालय सचिव, मनकुमार लिम्बु, तदर्थ समितिका सदस्य भरत सिं लिम्बु, नेत्रप्रसाद फेम्बु र अम्बिका श्रेष्ठलाई प्रतिपक्षी बनाएर उच्च अदालत इलाममा मुद्दा दर्ता गरेको गर्नभएको हो ।

त्यस्तै घर दूरी नएको व्यक्तिलाई मतदान गर्न दिएको भन्दै देउराली उपभोक्ता समूहका निर्वाचित अध्यक्ष केरसिङ लिम्बु, तदर्थ समिति र कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयविरुद्ध देउराली उपभोक्ता समूहका परिजित अध्यक्ष लाक्पा छेतेन शेर्पाले मुद्दा दर्ता गराउनुभएको हो ।

कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन नियमली र तदर्थ समितिले बनाएको आचरसंहिताविपरीत समूह गठन गरेको जनाउँदै समूह गठन भएको खारेज गरी पुनःगठन गरिपाउँ भनी उच्च अदातल इलाममा मुद्दा दर्ता गरेको तेञ्जी शेर्पाले बताउनुभयो ।

कसरी हुन्छ व्यवस्थापन परिषद् गठन

जिल्लाको आधाभन्दा बढी भूगोल ओगटेको दक्षिण एशियाकै नमूना संरक्षण क्षेत्रका रुपमा रहेको कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनःगठनको चर्चाले अहिले जिल्ला तातेको छ । यस क्षेत्रको संरक्षण र व्यवस्थापन स्थानीय समुदायकै हातमा नेपाल सरकारले हस्तान्तरण गरेको लामो समय भएको छ । यही हस्तान्तरणको समयमा विसं २०६३ असोज ७ गते यही क्षेत्रको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी २४ व्यक्तित्वले ज्यानसमेत गुमाउनुभएको थियो ।

स्थानीय समुदायबाट गठित विभिन्न उपभोक्ता समूह, आमासमूह, सामुदायिक वन समूहको प्रतिनिधिको सहभागितामा कञ्चनजङ्गा संरक्षण क्षेत्र नियमावली २०६४ बमोजिम उपभोक्ता समिति हुँदै परिषद् गठन हुने व्यवस्था रहेको छ । कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन चेम्जोङका अनुसार यस संरक्षण क्षेत्रले हालको फक्ताङलुङ गाउँपालिका वडा नं ५, तापेथोक, ६ लेलेप, र ७ ओलाङ्चुङगोला अनि सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनको भूभागलाई समेटेको छ । यी हालको चार वटा वडामा सात वटा उपभोक्ता समिति रहेका छन् । ओलाङचुङ्गोलामा एक वटा र बाँकी वडामा दुई÷दुई वटा उपभोक्ता समिति रहेका छन् । जसअन्तर्गत तापेथोकमा बिहानी र सिम्बुवाखोला उपभोक्ता समिति, लेलेपमा लालीगुराँस र सेकाथुम घुन्सा, याम्फुदिनमा कञ्चनजङ्गा र पाथीभरा र ओलाङचुङ्गोलामा घाङलुङ उपभोक्ता समिति रहेका छन् ।

यी रहेका सात वटा उपभोक्ता समितिमा पनि निश्चित भूगोल तथा चारकिल्लाका आधारमा आमासमूह, उपभोक्ता समूह र सामुदायिक वन समूह रहेका छन् । परिषद् पुनःगठन हुनका लागि पहिला प्रारम्भिकरुपमा यी प्रत्येक समूहको आम भेलाले समूहको पुनःगठन हुनु आवश्यक रहेको छ । त्यसपछि ती समूहका अध्यक्षको भेलाले उपभोक्ता समिति गठन हुने व्यवस्था रहेको छ ।

समूहको अध्यक्षले मात्र समिति गठनमा भाग लिन पाउँछन् समूह गठनमा सकेसम्म सहमति नभए प्रजातान्त्रिक पद्धतिबाट अध्यक्ष चयन हुने व्यवस्था रहेको छ । समूह गठन भइसकेपछि समिति गठनका लागि सो समितिभित्रका उपभोक्ता समूहका अध्यक्षमध्येबाट पाँच जना, आमासमूहका अध्यक्षबाट तीन जना, सामुदायिक वन अध्यक्षबाट एक जना छनोट हुन्छन् ।

सो छनोट भएको नौ जनाको भेलाले एक जना सामाजिक कार्यकर्ताको छनोट गर्ने गर्दछन् भने जम्मा १० जनाको भेलाले एउटा उपभोक्ता समिति चयन गर्दछ, जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र बाँकी सदस्य हुने व्यवस्था रहेको छ भने एक जना वडाध्यक्ष वा निजले तोकेको सम्बन्धित वडाको व्यक्ति पदेन सदस्य रहने व्यवस्था रहेको छ यसरी एउटा उपभोक्ता समितिमा ११ जनाको पदाधिकारी रहने व्यवस्था रहेको छ ।

समितिको गठन भइसकेपछि परिषद्को गठन हुन्छ जसमा पहिला १३ जना परिषद् सदस्यको छनोट हुने गर्दछ । जसका लागि सात वटा उपभोक्ता समितिका अध्यक्ष स्वतः सात जना छनोट हुनेछन् भने प्रत्येक वडाका आमासमूहका अध्यक्षमध्येबाट एक÷एक जना सदस्य छनोट भएर आउनेछन् जसमा आमासमूहका चार वटा वडाका प्रतिनिधि स्वतः सदस्य हुनेछन् भने प्रत्येक समितिमा छनोट भएर आएका सामुदायिक वन समूहका अध्यक्ष सात जनाबाट छनोट भएर आउने एक जना पनि स्वतः परिषद् सदस्य हुनेछन् भने सात वटा समितिमा छनोट भएर आएका सात जना सामाजिक कार्यकर्तामध्येबाट छनोट भएर एक जना सामाजिक कार्यकर्ता पनि स्वतः परिषद्का सदस्य रहने व्यवस्था रहेको छ ।

यसरी जम्मा १३ जना छनोट भइसकेपछि त्यही भेलाले कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन गर्दछ । अध्यक्ष, कोषाध्यक्ष, सदस्यसचिव र वाँकी सबै सदस्य रहनेछन् । यही परिषद्को बैठकले एक जना सदस्य मनोनीत गर्नेछ भने एक जना जिल्ला समन्वय समितिको प्रतिनिधि पदेन सदस्य गरी परिषद्को पूर्ण सङ्ख्या १५ जना रहेका नियमावलीमा उल्लेख छ ।

परिषद् गठनका लागि गठन भएको तदर्थ समितिका संयोजक तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार अहिलेसम्म लेलेपमा रहेको लालीगुराँस र याम्फदिनमा रहेको कञ्चनजङ्गा उपभोक्ता समितिको पुनःगठन सम्पन्न भएको छ जसमा लालीगुराँसमा पूर्वपरिष्द अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू र कञ्चनजङ्गामा मनकुमार राई अध्यक्षमा निर्वाचित भएका छन् । हाल विभिन्न कारण देखाउँदै परिषद् पुनःगठन तत्कालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्