कोरोनाबाट विदेशमा थप ९जना नेपालीको मृत्यु



काठमाडौं । कोभिड– १९ को संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको संख्या ३२७ पुगेको प्रेस संयोजक, कोभिड– १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका संयोजक चिरन शर्माले जानकारी दिए ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या दुई लाख ६९ हजार १८० जना छन् भने दुई लाख ६३ हजार ७३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली सङ्क्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए।

सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार संक्रमणमुक्त हुने आँकलन गरिएको डा सापकोटाले बताए । स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौँ मुलुकमा खोप अभियान शुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्