पैयु गाउँपालिकामा ल्याण्डफिल्ड साइड



नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको पैयुँ गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईडमा फोहोर व्यवस्थापन गर्न थालेको छ ।
बढदो शहरीकरणसंगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेको बेला ल्याण्डफिल्ड साईडमा फोहोर ब्यबस्थपन गर्न थालेको हो ।

पैयुँ गाउँपालिकाले जग्गाको अभावमा अहिले सम्म फोहोर व्यवस्थापन गर्न सकेको थिएन । हालै गाउँपालिकाले गाउँपालिकाको केन्द्र हातेमालोचोक बाट २ किलोमिटर टाढा वडा नम्बर १ टकलाकको घ्याङसिङमा ल्याण्डफिल्ड साईड बनाएर फोहोर व्यवस्थापन गर्न थालिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरि फोहोर फाल्न शुरु भएपनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताउनुभयो । कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने र फोहोर प्रसोधन गर्ने योजना बनाईएको पौडेलले बताउनुभयो ।

फोहोर थुपार्ने मात्रै नभई प्रसोधन केन्द्र समेत बनाउने गाउँपालिकाको योजना रहेको र त्यसका लागि ५ करोड खर्च लाग्ने अनुमानका साथ पूर्वाधार निर्माणको पहल भएको पौडेलले बताउनुभयो । गाउँपालिकाले फोहोर फाल्न ६२ आना जग्गा खरिद गरेको हो । अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बजारक्षेत्रमा चूनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन कार्य अब सहज भएको बताउनुभयो । फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित हुने समस्या हट्ने तिवारीले बताउनुभयो ।

स्थानीयले घर र घरवाहिरको फोहोर डस्टविनमा जम्मा गरेर खोलाखोल्सीमा फाल्ने गरेका थिए भने जलाउने समेत गरेका थिए । हुवास, हातेमालोचोक, अर्जुनबजार, डुँडबजार, त्रिबेणी लगायत बजार क्षेत्रमा घरहरु बढ्दै गएका छन् । व्यापरिक केन्द्र हुवासको हातमालोचोक शहरीकरण हुँदै गएको छ । गाउँपालिका स्थापना हुँदा देखिनै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईड बनाउने योजना भएपनि अहिले आएर बल्ल जग्गा पाएपछि योजना पुरा भएको तिवारीले बताउनुभयो ।

जिल्लाका सात स्थानीय तह मध्ये कुश्मा नगरपालिकाले मात्रै व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ । मोदी गाउँपालिकाको फोहोर अहिले पनि मोदीखोला र सडक छेउमा फालिँदै आएको छ । जलजला, फलेवास, बिहादी, महाशिला गाउँपालिकामा पनि फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईडको अभाव छ ।
समाप्त माघ ११

प्रतिक्रिया दिनुहोस्