वाइडबडी, बालुवाटार र लडाकू काण्डलाई ब्युँताइने



नेपाल समाचारपत्र, पाल्पा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली पक्षीय नेता एवं केन्द्रीय सदस्य महेश बस्नेतले वाइडबडी, बालुवाटार र लडाकू काण्डलाई ओलीले पुनः उठाउनुहुने र दोषीलाई जेलमा हल्ने बताउनुभएको छ । युवा संघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँ उक्त कुरा बताउनुभएको हो ।

प्रजातान्त्रिक राष्ट्रिय युवा संघका इन्चार्जसमेत रहेका नेता बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका मिडियाले भ्रम पार्दै हिँडेको तर तल्लो तहमा त्यस्तो भ्रम नरहेको बताउनुभयो । ‘नेकपामा स्वार्थपूर्तिमा लाग्ने केही नेताहरुले अध्यक्ष ओलीलाई घेराबन्दीमा पार्ने र अविश्वासको प्रस्तावबाट हटाउने षड्यन्त्र गरेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गर्नुभएको हो’, बस्नेतले भन्नुभयोे– ‘अहिलेको परिस्थितिमा अदालतले संसद् पुनःस्थापना गर्ने सम्भावना छैन ।’

निर्वाचनमा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएकाले प्रतिनिधिसभा विघटन गरिएकोसमेत बस्नेतले बताउनुभयो । केही तत्वले बलियो पार्टीमा फुट ल्याउन खोजे पनि ओली पक्षमा साविक एमालेका ९५ प्रतिशत बढी नेता तथा कार्यकर्ता रहेको दाबी गर्दै नेता बस्नेतले साविक माओवादीका नेताहरू पनि ओली पक्षमै आउने क्रम बढिरहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको अभियान सम्पन्न नहुँदै शक्तिको पछि लाग्दा वर्तमन अवस्थामा आएको बताउनुभयो । ‘पार्टी एकता सम्पन्न नहुनुमा प्रचण्डको भूमिका रहेको छ’, उहाँले भन्नुभयो– ‘नेकपाको अनुभूति कार्यकर्ताले गर्नै पाएनन्, प्रचण्डलाई एकीकरणको नेतृत्व गर्ने अवसर थियो, त्यो काम पूरा गर्न सक्नुभएन र ध्यान सरकार चलाउँछु भन्नेमा गयो ।’

प्रतिक्रिया दिनुहोस्