डिफेन्डिङ च्याम्पियनले नै जित्यो भेट्रान्स कप



हेटौंडा, (नेस)

हेटौंडाको हुप्रचौरमा भएको छैटौं संस्करणको हेटांैडा भेट्रान्स कप एट ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन बगरभाइ खलक पोखराले जितेको छ । शनिबार भएको फाइनलमा बगरभाइले सानोगौचरण भेट्रान्स काठमाडौंलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

दोस्रो हाफको ४०औं मिनेटमा मनोज गुरुङले गरेको गोल बगरभाइलाई उपाधि चुम्न निर्णायक बनाएको थियो । खेलको ‘म्यान अफ दी म्याच’ बगरभाइका नरेश श्रेष्ठ घोषित भए । प्रतियोगितामा विजेता बगरभाइ खलक पोखराले नगद १ लाख १ हजार १ सय ११ रुपियाँसहित प्रमाणपत्र, शिल्ड प्राप्त गरेको थियो भने उपविजेता सानोगौचरणले नगद ५१ हजार १ सय ११ रुपियाँ प्राप्त गरेको थियो ।

खेलमा उत्कृष्ट मिडफिल्डर बगरभाइका राजकुमार केसी, उत्कृष्ट फरवार्ड बगरभाइका मनोज गुरुङ, उत्कृष्ट डिफेन्स सानोगौचरणका चुनबहादुर थापा, उत्कृष्ट गोलकिपर बगरभाइका दिलीप क्षेत्री, उत्कृष्ट खेलाडी बगरभाइका ईश्वर गुरुङ र उत्कृष्ट कोच बगरभाइका अञ्जन देवकोटा घोषित भएका थिए । उनीहरूलाई जनही ५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा २० टिम सहभागी थिए ।

विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । खेलाडीलाई पुरस्कार प्रदान गर्दै मेयर महतले आगामी दिनमा हेटौंडा भेन्ट्रास कपमा सक्दो सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्