शेयर कारोबारमा आजदेखि ‘टी प्लस टु’ लागू

एक सातामै लगानीकर्ताको सम्पत्ति एक खर्ब बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

शेयर कारोबारमा आजदेखि ‘टी प्लस टु’ लागू हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागू गर्न निर्देशन दिएको छ । ‘टी प्लस टु’ भएपछि शेयर कारोबार्रपछिको राफसाफ चक्र कम हुनेछ । अर्थात कारोबार गरेको अर्को दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्नेछ ।

यसअघि धितोपत्र कारोबारमा ‘टी प्लस थ्री’ को राफसाफ चक्र कायम थियो । नेपाल धितोपत्र बोर्डले अनुमतिपछि सीडीएस एन्ड क्लियरिङले माघ ११ गते ‘टी प्लस टु’ मा झार्न सरोकारवालालाई निर्देशन दिएको हो । यो प्रणाली लागू भएपछि शेयर खरिदकर्ताले छिटो रकम भुक्तानी गर्नुपर्नेछ भने खरिद गरेको शेयर लगानीकर्ताको खातामा छिट्टै नै आउने छ ।

यसले पु“जीबजारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरूको भनाइ छ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको नीतिमा राफसाफ गर्ने प्रणालीलाई दुई दिनभित्र झार्ने योजना ल्याए अनुसार यो लागू भएको हो । यसले लगानीकर्तालाई लगानीको थप अवसर प्राप्त हुने विश्वास लिइएको छ ।

तर, हालको स्थितिमा शेयर कारोबार राफसाफमा ढिलाइ भइरहेको गुनासो आइरहेको र कतिपय सन्दर्भमा ब्रोकर कम्पनीहरूमाथि समेत कारबाही भइरहेको स्थितिमा ‘टी प्लस थ्री’ ले ब्रोकर कम्पनीहरूका निम्ति थप चुनौतिपूर्ण रहेको विश्लेषकहरूको भनाइ छ ।

यसैबीच बुलिस ट्रेन्डमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता ८८ अंक बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २२८६ दशमलव ५४ बिन्दुमा रहेको परिसूचक यस साता २३७४ दशमलव ६४ बिन्दुमा पुगेर बन्द भएको छ । यो ८८ दशमलव १० अंक अर्थात ३ दशमलव ८५ प्रतिशतले बढी हो ।

परिसूचक बढेसँगै शेयर बजारका लगानीकर्ताको सम्पत्ति एक सातामा एक खर्ब रुपियाँले बढेको छ । अघिल्लो साता नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९३ करोड ६० लाख ६ हजार रुपियाँ रहेकोमा यस साता बढेर ३१ खर्ब ८० अर्ब ९५ करोड ७० लाख ३५ हजार रुपियाँ पुगेको छ ।

कारोबार रकममा पनि यो साता उल्लेख वृद्धि भएको छ । अघिल्लो साता जम्मा २२ अर्ब ७४ करोड रुपियाँबराबरको शेयर किनबेच भएकोमा यस साता ३४ अर्ब १६ करोड रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार २ अर्ब ३७ करोड ८० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै साताभर ८ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । जसमध्ये प्रभु बैंकको सबैभन्दा धेरै शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्