मान्छे भूतघरमा रमाए अनि भँगेरा हराए



  • ध्रुव बस्नेत

यस पृथ्वीमा रहेका विभिन्न चराचुरुङ्गीमध्ये भँगेरा मानव सभ्यतासँगै सम्बन्धित छ । जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने भँगेरा प्राकृतिक तथा मानव सौन्दर्यको एउटा गतिलो सूचक हो । एउटा मानव संरक्षित अर्थात् पर्यावरणीय दृष्टिकोणले मानिससँग सम्बन्धित सबैभन्दा नजिकको प्यारो चरा भँगेरा हो ।

वैज्ञानिकहरुको भनाइअनुसार भँगेरा बसाइँ सर्ने चरा होइन, यो आफ्नो बासस्थानबाट साढे २ कि.मि. वरिपरि मात्र घुमफिर गर्न रुचाउँछ । भँगेराको मानिससँग मात्र नभएर वातावरणसँग पनि प्रगाढ सम्बन्ध रहेको पाइन्छ । यसले वातावरणको परिस्थितीय प्रणालीलाई सन्तुलन राख्न मद्दत गर्छ ।

भँगेराको कारण मानिसमा कुनै पनि नकारात्मक प्रभाव पर्दैन । बरु यसको प्रातकालीन चिरबिरले मानिसलाई प्रकृतिसँग जोड्ने काम गर्छ । भँगेरा नभएको घरलाई भूतघर भन्ने गरिन्छ । त्यसैले पहिलेका मान्छेले भँगेरालाई आ–आफ्नो घरमा बास दिने गरेका हुन् । मान्छे भूतघरमा रमाउन थाले अनि भँगेरा हराउँदै गए ।

हानिकारक कीटाणु मार्ने, बीउबिजन फैलाउने, परागकण गराउने, जनावरको मृत अवशेषलाई सफा अर्थात् हटाउने काम भँगेराको वातावरण सन्तुलनमा मुख्य भूमिका रहेको पाइन्छ । तसर्थ, भँगेरा मानिसको असल साथी हो, वातावरणको परिस्थितीय प्रणालीमा भँगेराको भूमिका अग्रणी छ ।

रोचक प्रसंग के छ भने, सन् १९५८ देखि १९६२ सम्म चीनमा माओत्सेतुङको नेतृत्वमा ‘किल स्प्यारो क्याम्पियन्स’ शुरु गरियो, चाइनाको ग्रामीण कृषि क्षेत्रमा भँगेराको कारण कृषि उत्पादन घट्यो, भँगेरा कृषकको शत्रु भन्दै हजारौँ भँगेरा मारियो । अन्ततः झन् कृषि उत्पादन घट्दै गयो र अन्त्यमा ‘किल स्प्यारो क्याम्पियन्स’ बन्द गरी चीनमा भँगेरा संरक्षण गर्न थालियो, जसको संरक्षणमा झन् वृद्धि भयो ।

भँगेरा यस्तो पक्षी हो, जसले कीरा–फट्याङ्ग्रा तथा लामखुट्टेसमेत आफ्नो आहाराको रुपमा लिन्छ । जसको कारण लामखुट्टेबाट हुने रोग हटाउन पनि भँगेराको महत्वपूर्ण भूमिका हुन्छ । लामखुट्टे धेरै रोगको कारक हो, महामारीको रुपमा देखा परेको डेंगु, मलेरियाजस्ता रोगबाट मानिसलाई टाढा राख्न भँगेराले सहयोग पु¥याउँछ । भँगेराको कारण मानिसमा कुनै पनि नकारात्मक प्रभाव पर्दैन । बरु यसको प्रातकालीन चिरबिरले मानिसलाई प्रकृतिसँग जोड्ने काम गर्छ ।

भँगेरा नभएको घरलाई भूतघर भन्ने गरिन्छ । त्यसैले पहिलेका मान्छेले भँगेरालाई आ–आफ्नो घरमा बास दिने गरेका हुन् । मान्छे भूतघरमा रमाउन थाले अनि भँगेरा हराउँदै गए ।काठमाडौं शहरको कुरा गर्दा, आजभन्दा ४०–४५ वर्षअगाडिसम्म हाम्रो आँगनमा सुकाएको बिस्कुन खान प्रशस्त भँगेरा आउँथे । हामीले त्यो धानको बिस्कुन सुकाएको ठाउँमा लामो नर्कटले भँगेरा धपाउने गथ्र्यौं तर आज एकमुठी चामल छरिदिँदा पनि त्यो खाइसक्ने भँगेरा छैनन् ।

हिजो घरभित्रको भकारीको धान खान भँगेरा कोठामा नै पस्थे । यत्तिको भँगेराको संख्या आज छैन, मात्र केही बीउजस्तो मात्र छ । भँगेराले धान–चामल मात्रै खाने हैन, हाम्रा घरवरिपरि यताउता खेल्दै हामीलाई हानि नोक्सानी गर्ने स–साना कीराहरु खाई असल वातावरण कायम राख्न राम्रो सहयोग गरिरहेको हुन्छ ।

भँगेरा एकप्रकारले जैविक कीटनाशक पक्षी हो । चिरबिर गरी कराउने मानिसको घरयासी फुच्चे साथी भनेकै भँगेरा हो । यिनीहरु क्रमशः मासिँदै छन् । वर्तमान अधिकारप्राप्त नगरपालिकाको ‘पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन’ स्थानीय सरकार सञ्चालनका सम्बन्धमा बनेको ऐन छ । तर युगौँदेखि मानवसँग सम्बन्धित भई हाम्रै घर–घरमा बस्दै आएको पक्षी भँगेरा संरक्षण गर्नुपर्छ भन्ने कुरो सरकारलाई थाहै छैन ।

भँगेराको संरक्षण कसरी गर्ने ?

भँगेरा प्रायः मानिस बस्ने ठाउँवरिपरि बस्ने–खेल्ने गरी मानिसकै शरणमा हुर्कन्छ । यसको मुख्य शत्रु भनेकै काग हो । यस कुरालाई बुझेर हाम्रो पहिलाका पुस्ताले घर बनाउँदा भँगेराका लागि समेत बस्नका लागि प्वाल बनाउँथे । काग छिर्न नसक्ने तर भँगेराचाहिँ सहजै छिर्ने प्वाल हुन्थ्यो । चार–पाँचवटा फुल/बच्चा रहन सक्ने गरी भित्र कचौराजस्तो तर बाहिर भँगेरा मात्र छिर्न सक्ने दुलो बनाइएको हुन्थ्यो । रैथाने डकर्मीले बडो ध्यान दिएर यस्तो गुँड बनाउने गर्दथे । यो परम्परागत चलन नै थियो । एउटा घरमा ५०–६० वटा भँगेराका गुँड बनाउने चलन थियो ।

आजकल २०३६÷०३७ सालपछि बनेका आधुनिक भवनमा यस्ता गुँड बनाएको पाइँदैन । घर बनाउँदाका खटप्वालहरु पनि प्लास्टर गर्दा नै टाल्ने गरेको पाइन्छ । ठेक्काबाट घर बनाउने प्रचलनले ठेकेदार, घरबेटी, डकर्मी, प्लास्टर गर्नेहरुमा भँगेरा संरक्षणको चेतना नै छैन । त्यसकारण अबको अधिकार सम्पन्न स्थानीय निकायले ‘हाम्रा घर–घरमा बस्ने जिउँदो सम्पदा भँगेरा हराउन थाले, संरक्षण गरौँ’ भन्ने नयाँ प्रतीकात्मक नारालाई आत्मसात् गर्नुपर्छ ।

त्यसको लागि बजेट छुट्याउने, चोक–गल्लीमा सूचना प्रवाह हुने गरी पम्प्लेट वितरण गर्ने, ठेकेदार, डकर्मीहरुलाई तालिम दिने, घरको नक्सामा भँगेराकै सिम्बल देखाएर अनिवार्य गुँड बनाउनुपर्छ भनी भवन निर्माण आचारसंहिता बनाउने, अनुगमन गर्ने, गुँड राख्नेलाई प्रोत्साहन गर्ने प्रचलन बसाल्नुपर्दछ । अनि मात्र नेपाली माटोको महत्व बुझ्ने, निरोगी बन्न,े धार्मिक तथा सामाजिक सोच पुनःस्थापना हुने हुन्छ ।

आज शहरका हुन् वा गाउँका, सबैले मोबाइल फोनमा धेरै खर्च व्यहोर्ने गरेका छन् । मोमाइल सञ्चालन गराउने दूरसञ्चारको बीटीएस टुरको विकीकरणले पनि भँगेरा खतरामा परेको कुरा बाहिर आएको छ । त्यस अर्थमा दूरसञ्चारबाट प्रत्येक स्थानीय तहले केही रकम लिने र भँगेरालगायतका चरा संरक्षण गर्ने वातावरण तयार गर्नुपर्ने देखिएको छ । हाम्रा घरवरिपरि भँगेरा रमाउनका लागि आरुबखडा, सुन्तला, अम्बा आदिका बोट लगाएर हरियाली गराउनुपर्छ ।

घर बनाउँदाका खटप्वाल नटाली राख्नुपर्छ । हाम्रा शताब्दी पुरुष सत्यमोहन जोशीको घरमा भएको जस्तो वा त्रि.वि. गेटनजिकै भएको प्राध्यापक आवास गृहमा भएको जस्तो भँगेराको कोलोनी बनाउन सकिन्छ । मेरो घरमा २५ वटा भँगेराका परिवार बस्न मिल्ने सुरक्षित गुँड बनाइएको छ ।

यति मात्र नभएर नयाँ घरको टपमुनि भँगेरा संरक्षण गर्न मिल्ने गुड पनि बनाइएको छ । मेरै छिमेकमा पनि सयौँ भँगेराको गँुड बनाइसकेको अवस्था छ । यसरी भँगेरा संरक्षण गर्ने सभ्यता सिकेमा हाम्रा ज्येष्ठ नागरिकहरुबाट स्याबासी पाउनेछौँ । किनकि उनीहरुले हिजो भँगेरा देखेका थिए, संरक्षण गर्ने गर्दथे । तर अहिलेको मोबाइल चलाउने पुस्ताले भँगेराको महत्व बिर्सने बेला भइसक्यो ।

परोपकारी संस्कृतिका कुरा :

हिजोका पुस्ताले किन भँगेराको गुँड बनाउने गरेका ? किन भ्यागुतोलाई भात खुवाउने गरेका ? त्यसमा धेरै अर्थ रहेको हुन्छ । सुरथ नामका चक्रवर्ती राजा राजपाठ त्यागेर अनि धनी वैश्य (व्यापारी) घर–सम्पत्ति छोडेर जंगलमा सुमेधा ऋषिकहाँ गई बस्नुपरेको कथा चण्डीमा पाइन्छ । सुमेधा ऋषिले चराको उदाहरण दिएर राजा र वैश्यलाई शिक्षा दिएका थिए ।

आफू भोकले पीडित हुँदा पनि बच्चाको मोहले चरा (भँगेरा) ले चुच्चोमा आहारा ल्याएर बच्चालाई खुवाउँछ । भँगेराले खाना जगेडा राख्न सक्दैन । आजका भ्रष्टाचारीजस्ता दुर्गुणीहरुलाई सखाप पार्ने दुर्गा भगवतीको कथा पनि हामीले सुनेका छौं र दशैँमा देवीको प्रसादस्वरुप टीका पनि लाउँदै आएका छौँ ।

तर तिहारमा भँगेरा मार्ने कागको पूजा हुने गरेको छ । एक दिन ‘यमराज’ कागको पूजा गर्छौ तर अरु दिन छुनुहुन्न भन्छौँ । किनकि कागलाई छोएमा सारा कागहरु आई आक्रमण गर्छन् । भँगेरालाई चाहिँ सधैँ लक्षिन र सहकालको चरा मानिन्छ । त्यसैले यमराजरुपी कागबाट बचाउन हाम्रा घरमा उपयुक्त ढंगका गुँडहरु बनाउने संस्कृति रहेको छ ।

त्यस अर्थमा पनि अब हामीले भँगेरा संरक्षणका लागि पहल गर्नुपर्छ । मैले त घर बनाइसकेँ तर त्यहाँ भँगेराको गुँड छैन, अरुलाई अहिले किन भन्नु ? भन्ने मानसिकता हटाउनुपर्छ । भँगेरा संरक्षणको अभियान हामीले गर्नै पर्छ । सरकारी एवं विदेशी व्यापारीको मात्र स्वार्थ पूर्ति गर्ने हाम्रा अन्य चाडको त्यति महत्व नहोला तर भँगेरा हाम्रो जिउँदो सम्पदा नै हो भन्ने ठानौँ ।

घरका खटप्वाल नटाली त्यहाँ ५०–६० वटा भँगेरा बस्न सक्ने गुण बनाउने जुन परम्परागत संस्कृति थियो त्यसलाई अब निरन्तरता दिने र भँगेरा संरक्षण गर्ने सबै पक्षबाट अभियान नै सञ्चालन गर्नुपर्ने समय भएको छ । आधुनिकरुपमा बनिसकेको घरमा चाँहि भँगेरा संरक्षणको लागि टपमुनि बाँसमा प्वाल बनाएर गुँड बनाउन सकिन्छ ।

भँगेरा बस्ने प्वाल राखेपछि मात्रै घर–मन्दिरको नक्सा पास गर्ने व्यवस्था गर्न पशुपक्षी मन्त्रालय एवं स्थानीय निकायले अभियान थाल्नुपर्छ । भँगेरा सुकुम्बासी भई हराउन थाले भनेर संरक्षणको लागि सरकार, सञ्चार प्रतिष्ठान, सामाजिक अभियन्ता, घरधनी, घर निर्माणकर्मीसमेतले आ–आफ्नो भूमिका निर्वाह गर्ने समय यही हो ।

प्रतिक्रिया दिनुहोस्