मलेसियाबाट एकै दिन १८ शव आयो



काठमाडौं, (नेस)

कामकोे सिलसिलामा मलेसिया पुगेका १८ जना नेपालीको शव शनिबार एकैपटक नेपाल आइपुगेको छ । विभिन्न मितिमा मलेसिया पुगेका ती नेपालीको अकालमा मृत्यु भएपछि नेपाल एयरलाइन्सले उक्त शव नेपाल ल्याएको हो । सुन्दर सपना बोकेर कामको खोजीमा मलेसिया पुगेका ती नेपालीको मृत्यु भएपछि मलेसियास्थित नेपाली दूतावासले समन्वय गरेर शव नेपाल पठाएको थियो ।

शव लिन त्रिभुवन विमानस्थल पुगेका आफन्तहरुको रुवाबासीले त्यहाँको वातावरण नै स्तब्ध बनाएको थियो । कतिपय आफन्त कफिनमा टाँसेको नाम देख्नासाथ भक्कानो छोडेर रोएका थिए । उनीहरुको रोदनले त्यहाँ उपस्थित भएका सबैलाई भावविह्वल बनाइदिएको थियो ।

त्यहाँ उपस्थित भएका अफन्तहरुको विलापको कारण वातावरण असहज बन्दै गएपछि सुरक्षा निकायले शव छिटोछिटो पठाउने व्यवस्था गरेको थियो । नेपाल एयर लाइन्सले ती शव मलेसियाबाट काठमाडौं सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क ल्याएको थियो । नेपाल एयर लाइन्सले वाइडबढी जहाज नै मलेसिया पठाएको थियो ।

सरकारले मुलुकमा रोजगारी सिर्जना गरिदिएको भए हाम्रा आस्थाका धरोहर ढल्ने थिएन भन्दै आफन्तको रुवाबासी चलेको थियो । १८ वटा शव बोकेको शव वाहन एकैपटक विमानस्थलबाट बाहिरिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर बाहिर जान लागेका यात्रीको आँखासमेत आँसुले भरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्